नेपालमा सरकारहरू लामो समय टिक्न सकेका छैनन् । गठबन्धन राजनीति, दलभित्रको टकराव, नेतृत्व विवाद, बाह्य दबाब । यी सबै मिलेर स्थिर सरकार बन्न नदिएका कारण नीति निरन्तरता र विकासका योजनाहरू पूरा गर्न गाह्रो भइरहेको छ । तत्कालको अवस्थालाई हेर्ने हो भने जनआन्दोलनमार्फत युवा वर्गले पारम्परिक राजनीतिमाथि असन्तुष्टि प्रकट गरिरहेका छन् । भ्रष्टाचार, पारदर्शिताको कमी, नेतृत्वको जवाफदेहिता, सामाजिक सञ्जाल प्रतिबन्धजस्ता विषयहरूमा प्रतिक्रियाको रुपमा आन्दोलन अगाडि आएको हो । नेतृत्वको व्यक्तिवादी प्रवृत्तिमा दलहरू प्रायः व्यक्तित्व, र नेता आसपास केन्द्रित हुने गरेका छन् । नीतिगत आश्वासनभन्दा व्यक्तिको लोकप्रियता वा प्रतिष्ठाले बढी भूमिका खेलेको पाइन्छद । यसले नीतिहरू दीर्घकालीन र समावेशी हुनबाट रोक लगाएको छ । संविधान, संघीयता र क्षेत्रीय हितको संवेदनशीलतालाई हेर्नु पर्दा संघीय व्यवस्था लागू भइसकेको छ । तर, प्रदेश सरकारहरूलाई भरपूर अधिकार, स्रोत र स्वायत्तता नदिइएको, संसाधन र राजनीतिक प्रभाव केन्द्रबाट नै भएको गुनासो चारैतिर छ । जनता, विशेषगरी मधेसी, थारू, आदिवासी÷जनजातिलगायतका क्षेत्रीय, सांस्कृतिक अल्पसंख्यक समूहहरू अझै महसुस गर्छन् कि, सत्ताको वास्तविक शक्ति उनको वरिपरि छैन ।
बेरोजगारी, विशेष गरी युवा बेरोजगारी, विदेश रोजगारीमा निर्भरता, लगानी नआउने, पूर्वाधार निर्माणमा ढिलाइजस्ता यी समस्याहरू छन् । राष्ट्रियस्तरमा विकासका योजनाहरू भए पनि उनीहरू स्थिरता र वास्तबिकतातर्फ पुग्न कठिनाइ छ । जनताका अपेक्षा बढ्दै गइरहेका छन् । पारदर्शिता, सुशासन, जवाफदेहिता, भ्रष्टाचारविरुद्ध कडा कदम आदि विषयमा जनताले उच्च अपेक्षा राखेका छन् । आन्दोलन, प्रेसर र सार्वजनिक संवादमा सार्वजनिक भागीदारी बढेको देखिन्छ ।
यी चुनौतीहरूबीच केही अवसरहरू पनि छन् । यदि ठिक रणनीति अपनाइयो भने ती नेपालका लागि सकारात्मक परिणतिमा रूपान्तरित हुन सक्छन । चुनाव अब एक महत्त्वपूर्ण मोड हो । आगामी प्रतिनिधिसभा निर्वाचनले नयाँ राजनीतिक परिदृश्य बनाउन सक्छ । जनताको माग, नयाँ दलहरूको उदय, युवा नेतृत्वको भूमिका, नयाँ राजनीतिक गठबन्धन सबैले चुनावको परिणाम तथा सरकारको कार्यक्षमता निर्धारण गर्नेछन् ।
युवा नेतृत्व, मध्यवर्गीय, सामाजिक सञ्जाल प्रयोग गर्ने सक्रिय नागरिक समाज, गैरपरम्परागत दलहरूको आगमनले पुरानोलाई चुनौती दिइरहेका छन् । यदि, यी नयाँ आवाजहरू सशक्त, संगठित तथा नीति आधारित हुन सक्छन् भने राजनीतिक व्यवस्था बदलिने सम्भावना छ ।
प्रदेश सरकारको स्वायत्तता, स्रोत वितरण, न्यायिक शक्ति, स्थानीय सरकार स्तरमा जनप्रतिनिधित्व सुधार गराउने काम भएमा राज्य नजिक आउने र सेवा पु¥याउने सरकारको विश्वास बढ्नेछ । सामाजिक सञ्जाल, मिडिया स्वतन्त्रता, नागरिक आवाज सुनिने भएमा भ्रष्टाचार र अनियमिततामा उच्च दबाव पर्नेछ । यसले राजनीतिमा स्वच्छता र प्रभावकारिता ल्याउन सक्छ । नयाँ नीति र कार्यक्रम परिकल्पनामा दीर्घकालीन विकास योजना, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधि÷डिजिटलाइजेशन आदि क्षेत्रमा नीति सुधार गरी युवा र ग्रामीण क्षेत्रहरूमा रोजगारी सिर्जना गर्न सकिन्छ । यदि सरकारहरू स्थिर रहन सक्छन् र नीति निरन्तरता कायम राख्न सक्छन् भने केही सुधार आवश्यक पनि छ । राजनीतिक नेतृत्वहरूमध्ये व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ प्राथमिक बनाउने हुनु पर्दछ । टिकट वितरण, पदाधिकारी चयन आदि पारदर्शी हुनु पर्दछ । न्यायालय, प्रशासन, स्थानीय सरकारहरू इत्यादि स्वतन्त्र, सक्षम र राजनीतिक हस्तक्षेपबाट मुक्ति हुनपर्छ ।
अल्पसंख्यक, मधेश, थारु, जनजाति, महिला आदिबासीको भागीदारी बढोस् भन्ने आसा गरिरहँदा के नेपालमा अब परिवर्तन केवल युवाले मात्रै सम्भव बनाउने हो ? पुरानो पुस्ताले त केहि गर्नै सक्दैन ? यो प्रश्न अहिलेको नेपालकै राजनीतिक बहसको केन्द्रबिन्दु बनेको छ । परिवर्तन केवल युवाले होइन, युवाले नेतृत्व गरेर, पुरानो पुस्तासँग मिलेरमात्र सम्भव हुन्छ । किन भने पुरानो पुस्तासँग त्यो अनुभव छ, त्यो दृष्टिकोण छ जो अहिलेको युवासँग छैन । ७०–८० वर्ष उमेरका नेताहरू अझै पनि सक्रिय राजनीतिमा, नयाँ पुस्तालाई मौका नदिई ? भनिरहँदा इतिहासतिर फर्केर नहेने हो भने देश ठूलो दुर्घटनामा पर्ने खतरा उत्तिकै छ । अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रशासनिक ज्ञान र ऐतिहासिक बोध पुरानो नेतृत्वबाट नै लिन सकिन्छ । पुरानो पुस्ताले आफ्नो अहम् त्यागी मार्गदर्शक भूमिका लिए भने उनीहरू नयाँ पुस्ताका लागि ढाल हुन सक्छन् । युवा पुस्तामा ऊर्जा छ, तर संयम र संरचना चाहिन्छ ।
पुरानो पुस्ताले डराएको नयाँ प्रयोग युवाले गर्न सक्छ । पारदर्शिता, डिजिटल शासन, लोकसेवा सुधार, आर्टिफिसियल इंटेलिजेन्सजस्ता नीति प्रयोगहरू युवाका रोजाइ हुन् । सञ्चार र संगठन क्षमतामा बलियो सामाजिक सञ्जाल, मिडिया र नेटवर्किङमा युवाको पहुँचले जागरूकता फैलाउन सक्छ । नयाँ मूल्य प्रणाली ल्याउने क्षमता जात, क्षेत्र, पार्टीभन्दा माथि उठ्ने सोच छ । नीति, कार्य र इमानदारीमा आधारित राजनीतिलाई प्राथमिकता दिने तत्परता युवामा छ ।
पुरानोको अनुभव र नयाँको ऊर्जा मिलेर नेपालमा यदि पुस्तान्तरणको पुल बनाउन सकियो भने परिवर्तन सम्भव छ । उदाहरणका लागि पुरानो पुस्ताले नीति र प्रणालीको रूपरेखा बनाओस् । युवा पुस्ताले कार्यान्वयनको जिम्मा लिओस् । निर्णय प्रक्रिया पारदर्शी र परिणाममुखी होओस् ।
पुरानो पुस्ताले बाटो बनायो, तर नयाँ पुस्ताले बाटो हिँड्न डरायो भने देश उस्तै रहन्छ । नयाँ पुस्ताले हिँड्यो, तर दिशै नबुझे फेरि त्यहीँ घुमिरहन्छ । नेपालमा युवा नेतृत्व र पुरानो पुस्ताको सहकार्य हुने हो भने सबैभन्दा पहिले पुरानो र नयाँ पुस्ताले आफ्नो भूमिका स्पष्ट बुझ्नुपर्छ ।