नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजन समिति संयोजक तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको कुरा गर्नु ‘हास्यास्पद र विडम्बनापूर्ण’ रहेको बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, “केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरूकै समूहले संसद् पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण छ।”
एमालेले हालैको केन्द्रीय समिति बैठकबाट आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्भव नहुने निष्कर्ष निकाल्दै संसद् पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ।
प्रचण्डले ओलीको यही निर्णयप्रति प्रतिक्रिया जनाउँदै भने, “जसले संसद् विघटन गरेको थियो, आज उही व्यक्ति संसद् पुनःस्थापनाको कुरा गर्छ भने त्योभन्दा ठूलो हास्यास्पदता अरू के हुन सक्छ?”
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका थिए। त्यसपछि नयाँ सरकार बन्न नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए। नयाँ निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ।
माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावमा सहभागी हुने तयारी पूरा गरिसकेका छन्।
यता एमालेले भने चुनाव हुन नसक्ने भन्दै संसद् पुनःस्थापनाको माग अघि सारेको छ, जसलाई प्रचण्डले ‘राजनीतिक विरोधाभास र विडम्बनापूर्ण कदम’ को संज्ञा दिएका छन्।