पर्सा जिल्लाभित्रको मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ पर्सा मदिरा व्यवसायी संघको कार्यालय उद्घाटन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्कस्थित कार्यालयको उद्घाटन शुक्रबार एक समारोहका बीच वीरगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवालले रिबन काटी गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै अग्रवालले संघको स्थापना पर्सा जिल्लाको मदिरा व्यवसायलाई नियमित र पारदर्शी बनाउन महत्त्वपूर्ण पहल भएको उल्लेख गरे । उनले भने, “संघले व्यवसायीबीच एकता र अनुशासन कायम गर्दै जिम्मेवार व्यवसायिक आचरण प्रवद्र्धन गर्नेछ, जसले बजार व्यवस्थापन र कर प्रणालीमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”
उक्त अवसरमा संघको औपचारिक सञ्चालक समिति पनि घोषणा गरिएको छ । संघको अध्यक्षमा चिनीलाल पटेल चयन भएका छन् । यस्तै समितिका उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिव प्रदीप कुमार लोहार, सचिव रजनीश कुमार, कोषाध्यक्ष राकेश कुमार साह चयन भएका छन् । यसैगरी सदस्यमा सदस्यहरूमा मनीष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रजित जयसवाल रहेका छन् । संघको प्रेस सल्लाहकारको जिम्मेवारी सन्तोष पटेललाई दिइएको छ ।
“व्यवसायमा पारदर्शिता र अनुशासन ल्याउने हाम्रो लक्ष्य”
संघका नव–निर्वाचित अध्यक्ष चिनीलाल पटेलले पर्सा जिल्लाभित्र रहेका सबै मदिरा व्यवसायीहरूलाई एक प्लेटफर्ममा ल्याएर व्यवसायलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य संघले लिएको बताए ।
उनले भने, “हामीले मदिरा उद्योगलाई नकारात्मक दृष्टिले होइन, कर प्रणाली र व्यवसायिक नियमनको दृष्टिले सुधार गर्ने प्रयास गर्दैछौं। संघले सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै व्यवसायीका हकहित र जिम्मेवारी दुबै सुनिश्चित गर्नेछ ।”
उद्घाटन समारोहमा वीरगञ्जका विभिन्न उद्योग व्यवसायी, समाजसेवी, स्थानीय प्रतिनिधि तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रदीप कुमार लोहारले गरेका थिए ।