तिहार नेपाली संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो । यो केवल उज्यालो र सजावटको पर्वमात्र होइन, आपसी माया, स्नेह र श्रद्धाको प्रतीक हो । पाँच दिनसम्म मनाइने यस पर्वले दिदी–भाई, दाजु–बहिनी, परिवार र समुदायबीचको आत्मीय सम्बन्धलाई अझ गाढा बनाउँछ । तर, पछिल्ला वर्षहरूमा तिहारको मौलिकता प्रविधिको तीव्र प्रयोग र आधुनिकताप्रतिको मोहका कारण क्रमशः हराउँदै गएको देखिन्छ । पहिलेका दिनमा तिहारको तयारी घरआँगनमै हुन्थ्यो । आफ्नै बगैंचामा फुलेका सयपत्री र मखमली फूलबाट माला गुथिन्थ्यो, दियोमा घिउबत्ती बालिन्थ्यो र घरभरि त्यसको सौन्दर्य र सुगन्ध फैलिन्थ्यो । देउसी र भैलोको गीतले गाउँगाउँमा उत्साह र उल्लास ल्याउँथ्यो । अहिले भने ती सबै परम्परागत रूपलाई बिस्तारै कृत्रिमता र प्रविधिले विस्थापित गर्दै गएको छ । हाम्रा हरेक चाडपर्वलाई आधुनिकतातर्फ ढालिरहदा अबका सन्ततीलाई कस्तो संस्कृति र संस्कार दिँदैछौ, यो गम्भीर कुरा हो ।
तिहार आयो भनिरहँदा झिलिमिलीको पर्व हो भनेर जानिन्थ्यो । तर। अहिले त एलईडी बत्ती, डिजिटल लाइट शो र स्मार्ट लाइटिङ प्रणालीले तिहारलाई आधुनिक र आकर्षक बनाएका छन् । मोबाइल वा रिमोटबाट नियन्त्रण गर्न सकिने बत्तीहरूले सजावटलाई सजिलो बनाएका छन् । तर, यस्ता प्राविधिक नवप्रयोगहरूले परम्परागत दियो र मैनबत्तीको भावनात्मक महत्वलाई ओझेलमा पारिदिएका छन् । त्यसैगरी बजारमा सजिलै उपलब्ध कृत्रिम फूल र तयारी माला प्रयोग गर्ने चलनले घरेलु सीप र मौलिक श्रम संस्कृतिलाई कमजोर पारेको छ ।
यद्यपि, प्रविधि स्वयम् दोषी छैन । यसको उपयोग कसरी र कहाँ गरिन्छ भन्ने कुराले नै यसको अर्थ निर्धारण गर्छ । केही युवापुस्ताले प्रविधिलाई मौलिक संस्कृतिसँग जोड्ने सिर्जनात्मक प्रयास गरेका छन् । इको–फ्रेन्ड्ली माला बनाउने, दियो र रंगोलीको डिजिटल रूप सिर्जना गर्ने वा परम्परागत गीतलाई आधुनिक उपकरणद्वारा पुनर्जीवित गर्ने । यसले प्रविधि र परम्परा एकअर्काका विरोधी होइनन्, बरू सन्तुलित प्रयोगद्वारा दुवैलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा बताइरहेको छ ।
तिहारको मौलिकता जोगाउन हामी सबैले प्रविधिको विवेकपूर्ण प्रयोग गर्न आवश्यक छ । आकर्षक सजावटमा मात्रै सीमित नभई, यसको सांस्कृतिक अर्थ र भावनात्मक गहिराइलाई पनि जोगाउनु हाम्रो जिम्मेवारी हो । आखिर तिहार केवल बत्ती र फूलको पर्व होइन । यो नेपाली समाजको आत्मा, सम्बन्ध र सहअस्तित्वको उज्यालो प्रतीक हो ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली फूल, घिउ, दियो, रंगोली, मालाजस्ता वस्तु स्थानीय रूपमा उत्पादन र प्रयोग गर्नु पर्दछ । यसले परम्परामात्र होइन, स्थानीय अर्थतन्त्र र सीपयुक्त महिलाहरूको रोजगारी पनि जोगाउँछ । दियो र प्राकृतिक उज्यालोलाई पुनःप्रयोग गर्नु पर्दछ । एलईडी बत्तीको सट्टा वा त्यससँगै घिउबत्ती र मैनबत्ती बाल्ने परम्परा जोगाउन सकिन्छ । यसले केवल सुन्दरता होइन, भक्तिभाव र आत्मीयता पनि झल्काउँछ ।
तिहारको अर्काे रौनक भनेको देउसी र भैलोको हो । तर, आजकल रेकर्डेड संगीत वा आधुनिक नृत्यले देउसीभैलोलाई विस्थापित गर्दैछ । ठूलो स्वर ढवाङ्गढवाङ्ग आवाजमा झुम्ने समूह दिनप्रतिदिन बढ्नु भनेको आफ्ना स्थानीय भाका, पुराना गीत र परम्परागत पोशाकसहित देउसी र भैलो गाउने परम्परा निरन्तरता नहुनु हो । जसले मौलिकता स्वाभाविक रूपमा हराउँदै जान्छ । घरमै माला उन्ने र सजावट बनाउने अभ्यास क्रमिक घट्दो छ । रेडिमेड कृत्रिम मालाको सट्टा आफैंले उनेको फूलको माला र रंगोली बनाउने अभ्यास गर्नु सांस्कृतिक गर्वको प्रतीक हो । यो परिवारका बालबालिकालाई पनि परम्परागत सीप सिकाउने राम्रो अवसर हो ।
हामीले प्रविधिलाई सांस्कृतिक रूपान्तरणको माध्यम बनाउन सक्छौं । उदाहरण हेर्ने हो भने परम्परागत संगीतमा आधुनिक रेकर्डिङ प्रविधि प्रयोग गर्ने, डिजिटल प्लेटफर्ममा देउसी र भैलो प्रतियोगिता आयोजना गर्ने, नेपाली मौलिक सजावटका डिजाइनहरू सामाजिक सञ्जालमा प्रचार गर्ने, बालबालिकामा संस्कृतिप्रतिको रुची जगाउने तिहारको अर्थ, कथा र परम्पराको शिक्षा बालबालिकालाई सरल भाषामा बुझाइने हो भने भविष्यमा उनीहरू नै यसको संरक्षणकर्ता बन्न सक्छन् । स्थानीय टोल विकास समिति, विद्यालय र युवा क्लबहरूले ‘मौलिक तिहार मनाऔँ’ भन्ने अभियान चलाउन सक्छन् ।
यसले सामूहिक चेतना र सहभागिता दुवै बढाउँछ । मौलिकता जोगाउनको लागि आधुनिकता अस्वीकार होइन, सन्तुलन आवश्यक छ । हामीले प्रविधिको उपयोग गर्दै पनि आफ्ना संस्कृतिको आत्मा र सौन्दर्य जोगाउन सक्छौं । त्यो नै आधुनिक नेपाली पहिचानको साँचो रूप हो ।