प्रसिद्ध मेकअप आर्टिस्ट नीलम पौडेलले कन्सियस कनेक्सन फाउन्डेसन को सहकार्यमा एलजीबीटीक्यूआई (LGBTQI) समुदायका सदस्यहरूका लागि आयोजना गरिएको १० दिने विशेष व्यावसायिक मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
समावेशी समाज निर्माण गर्ने र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित उक्त तालिमले सहभागीहरूमा नयाँ सीप र आत्मविश्वास विकास गरेको आयोजकहरूले जानकारी दिएका छन्।
समापन समारोहमा बोल्दै मेकअप आर्टिस्ट नीलम पौडेलले भनिन्, “मेकअप केवल सुन्दरताको माध्यम मात्र होइन, यो आत्म-अभिव्यक्ति र आत्म-स्वीकृतिको शक्तिशाली उपकरण पनि हो। एलजीबीटीक्यूआई समुदायका सदस्यहरूलाई यो सीप प्रदान गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। मलाई विश्वास छ, यो तालिमबाट प्राप्त ज्ञानले उहाँहरूको व्यक्तिगत र व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ।”
उहाँले सबै सहभागीहरूलाई शुभकामना दिँदै भविष्यमा पनि यस्ता समावेशी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, कन्सियस कनेक्सन फाउन्डेसन का प्रतिनिधिले उक्त सहकार्यले समाजका सबै वर्गलाई समेट्ने सन्देश दिएको बताउँदै फाउन्डेसन सधैं समानता र समावेशी विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। उनले यस्ता तालिमहरूले एलजीबीटीक्यूआई समुदायका सदस्यहरूलाई समाजको मूलधारमा ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
दश दिनसम्म चलेको तालिममा मेकअपका आधारभूतदेखि व्यावसायिक प्रविधिहरू, छालाको प्रकारअनुसारको मेकअप, व्यक्तित्वअनुसारको मेकअप, हेयर स्टाइलिङ, र व्यावसायिक रूपमा अगाडि बढ्न आवश्यक टिप्सहरू सिकाइएको थियो। सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत विभिन्न मेकअप प्रविधिहरूमा सीप विकास गरेका थिए।
तालिमकी सहभागीहरू रोशनी मगर, सलिना चौधरी र पूर्णिमा श्रेष्ठले आफ्नो अनुभव साझा गर्दै भनिन्, “यो तालिम मेरो लागि एउटा ठूलो अवसर थियो। मैले मेकअपका बारेमा धेरै कुरा सिकेँ र अब म यसलाई आफ्नो करियरका रूपमा अगाडि बढाउन चाहन्छु।” उनीहरूले तालिमले नयाँ आत्मविश्वास जगाएको र अब आफूहरू पनि सफल मेकअप आर्टिस्ट बन्न सक्षम भएको महसुस गरेको बताए।
यो तालिमले एलजीबीटीक्यूआई समुदायका सदस्यहरूलाई सीपयुक्त बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। यस्ता समावेशी तालिमहरूले नेपाली समाजमा समानता, सम्मान र अवसरको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
मेकअप आर्टिस्ट नीलम पौडेलले आगामी दिनहरूमा पनि यस्ता तालिमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आफ्ना समुदायका सदस्यहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहने बाचा गर्नुभयो।