दिपल ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश प्रदेशको प्रमुख औद्योगिक तथा आर्थिक केन्द्र वीरगञ्जमा अत्याधुनिक, आकर्षक र प्रविधिसम्पन्न इलेक्ट्रिक एसयूभी ‘दिपल एस-०५’ सार्वजनिक गरेको छ।
बुधबार आयोजित भव्य समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओमप्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, तथा नोभस ब्रदर्स प्रालिका अध्यक्ष अनुप अग्रवाल लगायतका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा दिपल एस-०५ सार्वजनिक गरेका हुन्।
एमएडब्लु वृद्धिको यो नयाँ मोडल केही सातामै नेपाली अटोबजारमा लक्जरी, स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनका कारण चर्चित बन्न सफल भएको कम्पनीले जनाएको छ।
दिपल एस-०५ मा संसारकै अग्रणी ब्याट्री निर्माता सीएटीएल (CATL) को ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ प्रयोग गरिएको छ, जसको चार्जिङ साइकल ५ हजार पटकसम्म (झन्डै ६ लाख किलोमिटर) को जीवनकाल रहेको छ।
सवारी यात्रालाई अधिकतम आरामदायी बनाउन यो मोडलमा दुवै फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड सुविधा प्रदान गरिएको छ। साथै, ‘क्विन को–पाइलट सिट’ फिचरमार्फत ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट’ र ‘वान टच न्याप मोड’ को अनुभव प्राप्त गर्न सकिन्छ।

यसका अतिरिक्त, ‘सेग्मेन्ट-एक्स्क्लुसिभ रिमोट इन एन्ड आउट पार्किङ’ प्रविधि समावेश गरिएको छ, जसले साँचोको माध्यमबाट ड्राइभरले सवारीलाई अगाडि वा पछाडि सजिलै सार्न सक्ने सुविधा दिन्छ।
दिपल एस–०५ मा नेपाली बजारमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले (AR HUD) समावेश गरिएको छ, जसले लाइभ नेभिगेसन र अन्य अत्यावश्यक ड्राइभिङ सूचना सीधै विन्डशिल्डमा प्रोजेक्ट गर्छ।
यसमा १४.४ इन्चको सनफ्लावर टचस्क्रिन र पूर्ण इन्टरनेट कनेक्टिभिटी सुविधा पनि रहेको छ, जसले यो मोडललाई नयाँ पुस्ताको ‘स्मार्ट लक्जरी’ एसयूभीको रूपमा परिभाषित गर्छ।
यसै अवसरमा वीरगञ्जमा नयाँ स्टेट-अफ-द-आर्ट दिपल सोरुम पनि उद्घाटन गरिएको छ। एमएडब्लु वृद्धिको आधिकारिक डिलर नोभस ब्रदर्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मधेश प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष अशोक टेमानीले गरे। कार्यक्रममा वृद्धि ग्रुपका निर्देशक ओमप्रकाश सिकारिया, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायत पदाधिकारीहरूको उपस्थिति थियो।
नोभस ब्रदर्स प्रालिले अब वीरगञ्ज तथा आसपासका क्षेत्रका ग्राहकका लागि दिपलका अत्याधुनिक इभीहरूको बिक्री, वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।
सोरुम उद्घाटनसँगै चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु गरिएको छ। कार्यक्रम अन्तर्गत ग्राहकले दिपल एस–०५, एस–०७ आईसीए, एल–०७ सेडान र अवतार–११ लक्जरी एसयूभी लगायत मोडलहरूको टेस्ट ड्राइभ गर्न सक्ने छन्।

एक्सचेन्ज योजनाअन्तर्गत ग्राहकले चार वटा रिकन्डिसन्ड हाउसबाट पुरानो सवारीको उच्चतम मूल्याङ्कन, चयनित मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, साथै निःशुल्क ट्राभल चार्जर प्राप्त गर्न सक्नेछन्।
कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिएका छन्, जसले आर्टिफिसियल इन्टेलिजेन्स (AI) र अटोमेसन प्रविधिमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गराउँछन्।
एमएडब्लु वृद्धिले नेपालको विद्युतीय सवारीसाधन बजारलाई नयाँ दिशा दिने उद्देश्यका साथ ‘दिपल’ इभी सिरिज प्रस्तुत गर्दै आएको छ। ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’को अद्वितीय संयोजनका साथ दिपल एस-०५ नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।