फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार पदबाट राजीनामा दिएका छन्। उनले मन्त्रिपरिषद घोषणा गरेको एक दिनमै पद छाडेका हुन्।
“प्रधानमन्त्रीको रूपमा निरन्तर काम गर्ने अवस्था पूरा भएन,” भन्दै लेकोर्नुले राजनीतिक दलहरूको सम्झौता गर्न अनिच्छालाई आलोचना गर्दै राजीनामा घोषणा गरेका हुन्।
एलीसी प्यालेसले राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग करिब एक घण्टा भेटपछि लेकोर्नुको राजीनामा स्वीकृत भएको जनाएको छ।
यो कदम प्रधानमन्त्री फ्राँस्वा बैरुको सरकार पतन भएको २६ दिनपछि आएको हो। लेकोर्नु फ्रान्सका दुई वर्षभित्र पाँचौँ प्रधानमन्त्री बनेका थिए।
राजनीतिक संकट गहिरिँदै
लेकोर्नुको मन्त्रिपरिषदलाई विपक्षी दलहरूले कडा आलोचना गरेका थिए। बैरुको सरकारकै निरन्तरता जस्तो देखिएको भन्दै दलहरूले संसदमा अस्वीकृत गर्ने चेतावनी दिएका थिए।
केही दलहरूले समयमै आम निर्वाचनको माग गरेका छन् भने केहीले राष्ट्रपति म्याक्रोंको राजीनामासमेत माग गरेका छन्। तर म्याक्रोंले आफ्नो कार्यकाल २०२७ पूरा गर्ने अडान दोहोर्याउँदै आएका छन्।
दक्षिणपन्थी नेशनल र्याली पार्टीकी नेतृ मरीन ले पेनले भने, “अब एक मात्र बुद्धिमानी कदम निर्वाचन हो। फ्रान्सेली जनता अब दिक्क भएका छन्। म्याक्रोंले देशलाई कठिन अवस्थामा पुर्याएका छन्।”
म्याक्रोंका विकल्प
अब के गर्ने भन्ने जिम्मा राष्ट्रपति म्याक्रोंकै हातमा छ। उनका लागि तीन विकल्प छन् – अर्को प्रधानमन्त्री नियुक्त गर्ने, संसद विघटन गरेर नयाँ निर्वाचन घोषणा गर्ने, वा आफैँ पदत्याग गर्ने।
विश्लेषकहरूका अनुसार म्याक्रोंले राजीनामा दिने सम्भावना न्यून छ। तर लेकोर्नु जस्तो नजिकका सहयोगी असफल भएपछि अर्को विकल्प सीमित भएको छ। नयाँ निर्वाचनमा मध्यपन्थी खेमाको हार र दक्षिणपन्थीको विजय हुने आकलन गरिएको छ।
लेकोर्नुको आलोचना
राजीनामापछि लेकोर्नुले भने, “सबै दलहरू पूर्ण बहुमत पाएझैँ व्यवहार गर्दैछन्। म सम्झौताका लागि तयार थिएँ तर सबैले आफ्ना सम्पूर्ण एजेन्डा मात्र थोपर्न खोजे।”
उनले राजनीतिक दलहरूलाई विनम्रता देखाउन र ‘अहंकारलाई छोड्न’ आग्रह पनि गरे।
पृष्ठभूमि
फ्रान्सेली राजनीति २०२४ को जुलाईयता अस्थिर छ। म्याक्रोंले स्पष्ट बहुमत खोज्दै आकस्मिक निर्वाचन गरे पनि परिणाम असफल भयो र संसद टुक्रिएको अवस्थामा छ।
यसपछि निरन्तर सरकार ढल्दै आएका छन्। सेप्टेम्बर २०२४ मा नियुक्त मिचेल बार्नियर तीन महिनामै हटाइएका थिए भने उनका उत्तराधिकारी बैरु नौ महिनामै बजेट अस्वीकृत भएपछि पदमुक्त भए।
फ्रान्सको बजेट घाटा २०२४ मा ५.८% जीडीपी पुगेको छ भने कुल ऋण जीडीपीको ११४% पुगेको छ, जुन युरोजोनमा ग्रीस र इटालीपछि तेस्रो सबैभन्दा बढी हो।
लेकोर्नुको राजीनामाको खबर सार्वजनिक भएपछि सोमबार बिहान पेरिसको शेयर बजारमा तीव्र गिरावट आएको छ।