दशैं हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड हो, तर यसको प्रभाव केवल धार्मिक उत्सवसम्म सीमित छैन । ८० प्रतिशतभन्दा बढी हिन्दू जनसंख्या भएको नेपालमा दशैं सांस्कृतिक र पारिवारिक पुनर्मिलनको पर्व मात्र होइन, समग्र अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख इन्जिन हो ।
दशैंको आर्थिक महत्व व्यापक छ । लामो बिदाका कारण उपभोगजन्य क्रियाकलाप वृद्धि हुन्छ । तथ्यांकअनुसार, एउटा नेपालीले कमाएको १०० रुपैयाँमध्ये ९० रुपैयाँ उपभोगमै खर्च गर्छ । यो नेपालीको कमजोर बचत संस्कृतिको संकेत पनि हो । यो बेला खाद्यान्न, ग्यास, तेल, चामल, गेडागुडी, तरकारी, लत्ताकपडा, सुनचाँदी, फलफूल, इलेक्ट्रोनिक्स, मोबाईलदेखि सवारी साधनसम्मको किनमेलमा वृद्धि हुन्छ ।
राजस्वको प्रमुख स्रोत भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क समेत चाडपर्वकै समय उच्च हुने गर्छ । वार्षिक खुद्रा कारोबारको करिब आधा हिस्सा दशैं, तिहार र छठजस्ता पर्वको माहोलमा हुने गर्छ ।
तर, यस वर्ष भने दशैंको बजार रौनक विगतभन्दा मन्द देखिन्छ । हालैको जेनजी आन्दोलन, सत्तापलटपछि बनेको अन्तरिम सरकार र अनिश्चित राजनीतिक वातावरणले उपभोक्ता र व्यापारी दुवैको आत्मविश्वास घटाएको छ । निजी सम्पत्तिमाथि आगजनी, लुटपाटजस्ता घटना र प्रशासनिक संरचनाको क्षतिले बजारको मनोबल कमजोर पारेको छ । कोरोना महामारीको झट्काबाट अझै निको नभइसकेको बजारमा राजनीतिक संकटको थप चोट परेको छ ।
उपभोक्ता अहिले सावधान र सशंकित छन् । खरीदअघि उपभोक्ता दश पटक सोच्न थालेका छन् । यसले बिक्री घटाउने स्पष्ट संकेत देखाउँछ । बजारमा बिक्री घटेको छ । महामारीपश्चात् मागमा आएको कमीलाई आन्दोलनले अझ पछाडि धकेलेको अनुभव व्यापारीहरूले सुनाएका छन् । चाडपर्वका हुने ठूलो उपभोगको आपूर्ति आन्तरिक उत्पादनले होइन, आयातले धानेको छ ।नेपालका उद्योगहरूले समयानुकूल विविधीकरण गर्न नसक्दा र स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न नसक्दा आयातमा निर्भरता बढ्दो छ ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन ठप्प हुनु यो समस्याको ज्वलन्त उदाहरण हो । दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसम्मको माग बढ्ने संवेदनशील अहिलेको समयमा यस्तो अवरोध केवल तत्कालीन कारोबारलाई होइन, दीर्घकालीन लगानी वातावरणलाई पनि नोक्सान पु¥याउँछ । दशैंको चमकले हाम्रो अर्थतन्त्रलाई अस्थायी रूपमा मात्र उचाल्न सक्छ । पर्वकेन्द्रित उपभोगले कर अस्थायी राजस्व त बढाउँछ, तर स्थायी रोजगारी र स्वदेशी उत्पादनको आधार तयार गर्दैन । दीर्घकालीन सबलता चाहिने हो भने उत्पादन प्रणालीमा सुधार, ऊर्जा आपूर्ति स्थायित्व, पूर्वाधार विकास र नीति–निर्माणमा राजनीतिक स्थिरता अनिवार्य छ ।
यो दशैंको अवसरमा हामी सबैले बुझ्नुपर्ने कुरा को हो भने धार्मिक र सांस्कृतिक उत्सवको रौनकमात्र पर्याप्त छैन । आफ्नै उत्पादन क्षमतामा आधारित स्थायी अर्थतन्त्र बनाउने दिशामा राज्य, निजीक्षेत्र र आम नागरिकले गम्भीर पहल गर्नु पर्दछ । उत्सवको चमक छिट्टै मन्द हुन्छ, तर सबल अर्थतन्त्रको जग दीर्घकालीन हुन्छ ।
दशैंले दिने अर्को ठूलो पाठ भनेको आत्मनिर्भरता हो । हाम्रा चाडपर्वले बजार ताताउँछन्, तर त्यो रौनक आयातमा निर्भर छ भने त्यो अस्थिर रहन्छ । विदेशी मुद्राको चाप, व्यापार घाटा र आन्तरिक उत्पादनमा लगानीको कमीले अर्थतन्त्र कमजोर हुन्छ । अहिलेको राजनीतिक अन्योल, औद्योगिक अवरोध र बजारको अनिश्चितताले हामीलाई यही यथार्थ सम्झाइरहेको छ ।