हैजाको संक्रमण तीव्र बनेपछि सुरु गरिएको खोप अभियानले पर्सा र बारामा उल्लेखनीय सफलता पाएको छ। अभियान सुरु भएको दुई दिनमै १ लाखभन्दा बढीले हैजाविरुद्धको खोप लगाएका छन्।
परिवार कल्याण महाशाखाका तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जना गरी दुई दिनमा करिब १ लाख १९ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्।
गत ६ भदौमा वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको हैजा संक्रमण क्रमशः अन्य वडासँगै बाराका केही क्षेत्रमा फैलिएको थियो। त्यसपछि सरकारले गत आइतबार (२६ असोज) देखि पर्सा र बाराका उच्च जोखिम क्षेत्रहरूमा खोप अभियान सञ्चालन गरेको हो।
सरकारले पर्साका सबै १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिलाई इयूभिकोल–एस खोप खुवाइरहेको छ। यो मुखबाट खुवाइने खोप विश्व स्वास्थ्य संगठन (WHO) ले प्रमाणित गरेको र नेपाल औषधि व्यवस्था विभागमा दर्ता गरिएको हो।
पर्सामा ६ लाख ५२ हजार १२९ र बारामा ३ लाख ६३ हजार गरी कुल १० लाख १८ हजार जनालाई खोप दिने लक्ष्य रहेको परिवार कल्याण महाशाखाले जनाएको छ।
विज्ञका अनुसार खोप खुवाएपछि दुई हप्ताभित्र यसको प्रभावकारिता ८२ प्रतिशत सम्म देखिन्छ। तर उनीहरूका भनाइमा, खोप उपचार होइन, प्रकोप नियन्त्रणको सहयोगी उपाय मात्र हो।
महाशाखाका प्रमुख डा. बिकेक कुमार लाल भन्छन्, “खोपले संक्रमण घटाउनेछ, तर हैजा नियन्त्रणको पहिलो उपाय सरसफाइ नै हो।”
उनका अनुसार खोप खाइसकेपछि पनि हैजा रोकथामका लागि शुद्ध पानी पिउनु, सफा खाना खानु, साबुन पानीले हात धुनु र शौचालयमै दिसा पिसाब गर्नु अनिवार्य छ।