अमेरिकाको फेडरल रिजर्भ र युरोपको युरोपियन सेन्ट्रल बैंकले ब्याजदर बढाउँदा धेरै विदेशी लगानीकर्ताले आफ्नो पैसा त्यहाँ लगानी गर्न चाहन्छन् । लगानी गर्नको लागि सबैलाई डलर वा युरो चाहिन्छ, त्यसैले माग बढेर मूल्य बढ्छ । जब देशले मुद्रास्फीति नियन्त्रण गर्न कडा नीति अपनाउँछ । यसमा ब्याजदर बढाउने गरिन्छ । त्यसले अर्थतन्त्रलाई स्थिर देखाउँछ । यसले विदेशी लगानी आकर्षित गर्छ र मुद्रा बलियो हुन्छ ।
अमेरिकी डलरलाई विश्वकै सबैभन्दा सुरक्षित मुद्रा मानिन्छ । युद्ध, अस्थिरता, संकट हुँदा लगानीकर्ताले आफ्नो पैसा डलर वा कहिलेकाहीँ युरोमा लग्छन् । यसले मूल्य बढाउँछ । अमेरिका वा युरोपका वस्तु तथा सेवाको माग बढेपछि ती किन्ने देशहरूले डलर युरोमा भुक्तानी गर्नुपर्छ । यसले पनि डलर र यूरोको मूल्य बढाउँछ ।
डलर वा यूरो बढ्नुको अर्को कारण भनेको अन्य मुद्रा कमजोर हुनु हो । भारतीय रुपैयाँ वा नेपाली रुपैयाँ कमजोर भएमा स्वाभाविक रूपमा डलर र युरो महँगो देखिन्छ । डलर बढ्नुको कारण अमेरिका उच्च ब्याजदर, लगानी सुरक्षित देखिनु, विश्वभर माग बढ्नुलाई लिइन्छ । युरोपको आर्थिक नीति, विश्वव्यापी व्यापारमा प्रयोग हुनु र दोस्रो ठूलो रिजर्भ मुद्रा हुनु पनि यसको कारण हो । नेपाली रुपैयाँ डलर र युरोको अगाडि निकै कमजोर हुँदै गएको छ । यसको प्रमुख कारणहरू निम्नानुसार छन् । आयात धेरै हुनु र निर्यात कम हुनु यसको कारण हो । नेपालले धेरै सामान जस्तै पेट्रोलियम, ग्यास, गाडी, मेसिन, औषधि आदि विदेशबाट आयात गर्छ । तर, निर्यात भने निकै कम छ । जब आयात धेरै हुन्छ, डलर र यूरोमा तिर्नुपर्ने हुन्छ । यसरी डलर र यूरोको माग बढ्छ ।
भारतसँगको विनिमय दर नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग फिक्स गरिएको छ । १ भारतीय रूपैयाँ बराबर १ रूपैयाँ ६० पैसा गरिएको छ । यदि भारतीय रुपैयाँ कमजोर भयो भने नेपाली रुपैयाँ पनि स्वाभाविक रूपमा कमजोर हुन्छ । अहिले भारतीय रुपैयाँ अमेरिकी डलर अगाडि कमजोर भएकाले नेपालमा पनि डलर महँगो भएको हो । वैदेशिक मुद्रा भण्डार घट्नु पनि यसको कारण हो । नेपालले धेरै आयात गर्ने तर निर्यात र रेमिट्यान्स घट्दा विदेशी मुद्रा भण्डार घट्दछ । जब डलर र युरो कम हुन्छ, त्यसको माग झन् बढ्छ । यसबाट मूल्य बढ्छ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्स ठूलो स्रोत हो । यदि वैदेशिक रोजगारमा जानेको संख्या घट्यो वा रेमिट्यान्स कम आयो भने डलर र यूरो आपूर्ति घट्छ र महँगो हुन्छ । अहिले अमेरिका र यूरोपमा ब्याजदर बढेकाले लगानीकर्ता त्यहाँ आकर्षित भएका छन् । यसले डलर र युरो अझ बलियो भएको छ ।
नेपालजस्ता देशले आफ्नो मुद्रा बलियो बनाउन सक्दैनन्, त्यसैले कमजोर हुन्छ । नेपालले आयात धेरै गर्ने, तर निर्यात कम गर्ने कारणले डलरको माग बढाएको छ । भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनु, वैदेशिक मुद्रा भण्डार घट्नु, रेमिट्यान्स पर्याप्त नआउनु, डलर र यूरो आफैं विश्वभर बलियो हुनु पनि यसको कारण हो । यसैले डलर र यूरो दिनदिनै महँगो हुँदै गएको हो । नेपाली रुपैयाँ लगातार कमजोर हुँदै गएको छ । सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रले अर्थतन्त्र सुदृढ गर्न दीर्घकालीन योजना बनाएर त्यसलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आवश्यक छ ।