‘नागरिक प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य’ भन्ने मूल नाराका साथ ७० औं प्रहरी दिवस २०८२ मनाइएको छ । प्रदेश प्रहरी कार्यालय, मेधश प्रदेश र जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा शुक्रबार वीरगञ्जमा भएको समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले सुरक्षा निकायले नागरिकको सुरक्षालाई मुख्य उद्देश्यमा राखेको बताए ।
हालै भएको आन्दोलनपछिको परिवेशमा सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले सुरक्षा निकायले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताए । उनले वीरगञ्जमा सञ्चालित जुवाघरमा नेपालीहरू नठगिउन् भन्नका लागि सुरक्षा निकायको ध्यानाकर्षण भएको उनले बताए । ‘सुरक्षा निकायले गरेका कतिपय अनुसन्धानका काम बाहिर आउँछन् । कतिपय काम बाहिर नआउँदा काम गरेको छैन कि भन्ने भान हुन सक्छ । तर, हामीले आफ्नो काम गरिरहेका छौं,’ उनले भने ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले समाजमा हुने अपराधलाई रोक्न नेपाल प्रहरी र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए । ‘प्रहरीलाई नेपाल सरकारले अपराध नियन्त्रण गर्न खटाएको छ । पीडितले पाएको न्यायको आधारमा प्रहरीको मूल्यांकन गर्ने काम समाजको हो । समाजले प्रहरीको आलोचनामात्र गर्ने होइन । राम्रो कामको सराहना पनि भयो भने प्रोत्साहन मिल्छ,’ उनले भने ।
तिहार, छठ जस्ता चाडपर्वहरू नजिकिँदा अपराधका घटनाहरू हुन सक्ने भएकोले समाजमा शान्ति, अमनचयन कायम राख्नमा नेपाल प्रहरी र नागरिक समाज दुवैको सहकार्यमा उनले जोड दिए ।
पर्साका प्रहरी उपरिक्षक सुदीपराज पाठकले प्रहरी केवल सुरक्षा प्रदान गर्ने संगठनमात्र नभएर नागरिकको भरोसाको केन्द्र भएको बताए । प्रहरी सुरक्षाको प्रत्याभूतिसँगै समाजमा हुने अन्य कानूनविपरीतका गतिविधि नियन्त्रणमा पनि सक्रिय रहेको बताए ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले नागरिक र प्रहरीबीचको रचनात्मक सहकार्यबाट प्रभावकारी सुरक्षा व्यवस्थापन हुनसक्ने दाबी गरे । सीमावर्ती पर्सा जिल्लामा सुरक्षा संवेदनशीलता बढी भएकाले सुरक्षा निकाय थप सजग र सचेत हुनुपर्ने सुझाव अध्यक्ष खनालको थियो ।

वीरगञ्जमा खुलेका जुवाघरमा वीरगञ्जका स्थानीय बासिन्दा ठगिएको भन्दै अनुगमनको जिम्मा लिएका निकाय यसमा आवश्यकताजति गम्भीर नदेखिएको उनको भनाइ थियो । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रहरी पूर्वकर्मचारी परिषद नेपालका अध्यक्ष ललन राउत, पूर्व प्रहरी संगठन पर्साका अध्यक्ष दानबहादुर रानालगायतले समाजमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रहरी र आम नागरिकबीच हातेमालोको आवश्यकता औंल्याए । कार्यक्रममा प्रहरी शहिदका परिवारलाई सम्मानित गरिएको थियो । सुरक्षा प्रत्याभूतिका लागि प्रहरीसँग सहकार्य गर्ने संघ÷संस्था र उत्कृष्ट प्रहरीलाई पनि सम्मानित गरिएको थियो ।


