नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङका गतिविधिले जिल्लाको पत्रकारिता र शान्ति सुव्यवस्थामा गम्भीर असर पारेको भन्दै उनको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ।
महासंघले यस विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएको छ।
महासंघका अनुसार, एसपी तामाङले शान्ति सुव्यवस्था कायम राख्नुभन्दा बढी अवैध धन आर्जन गर्ने र अवाञ्छित कार्यमा संलग्न हुने विषयमा सार्वजनिक सूचनाहरू आएका छन्। यस्ता विषयमा समाचार लेख्ने पत्रकारहरूलाई निगरानीमा राख्ने, प्रताडित गर्ने र दुश्मनी साँध्ने व्यवहारले जिल्लाको वातावरण बिग्रिने खतरा बढाएको महासंघको भनाइ छ।
पछिल्लो समय महासंघका अध्यक्ष रमेश सुवेदीलाई एसपी तामाङको तस्करसँगको मिलिभगत सम्बन्धमा समाचार लेखेको बदला स्वरूप मानसिक प्रताडना दिइएको महासंघले आरोप लगाएको छ। महासंघका अनुसार, सामान्य जाहेरीको आधारमा तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक यातना दिएको र जाहेरीकर्ताको पक्षमा वकालत गरेको बताएका छन्।
यसैको विरोधस्वरूप पत्रकारहरूले हालै सम्पन्न ७०औँ प्रहरी दिवस विशेष कार्यक्रममा अनुपस्थित भई सांकेतिक विरोध पनि जनाएका थिए।
महासंघले प्रहरी प्रमुखको दम्भपूर्ण र बदलाभाव बोकेको व्यवहारले प्रहरी र पत्रकारबीच अनावश्यक तिक्तता बढाएको ठहर गर्दै, पत्रकारको सुरक्षा र निर्भीक पत्रकारिता गर्न सकिने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले उपयुक्त कदम चाल्न विनम्र अनुरोध गरेको छ।
