प्रधानमन्त्री सुशीला कार्कीले सबै नागरिकलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, “सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ।” उनले मतदाता नामावलीमा नाम भए/नभएको निर्वाचन आयोगको वेबसाइटमार्फत जाँच गर्न सकिने जानकारी पनि दिएकी छन्।
उमेर अनुसार, १६ वर्ष पुगेका र नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्, तर मतदान गर्ने अधिकार भने १८ वर्ष पूरा गरेपछि मात्र (फागुन २०) पाउनेछन्।
सरकारले आदेशमार्फत मतदाता नामावली दर्ता र अध्याविधक प्रक्रिया क्रियाशील बनाएको छ। असोज १२ गतेदेखि मतदाता नामावली दर्ता तथा अध्याविधक सुरु भएको र यही ३० कात्तिकसम्म चल्नेछ।
निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार, आगामी १–१० मंसिरसम्म राजनीतिक दलद्वारा निर्वाचन प्रयोजनको लागि दर्ता कार्यक्रम हुनेछ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ माघदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने ३–१८ फागुनसम्म निर्वाचन प्रचारप्रसार हुनेछ। त्यसपछि प्रचारप्रसार निषेधको अवधि लागु हुनेछ।
मतदान २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म हुनेछ। दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलनपछि मतगणना प्रारम्भ गरिनेछ। समानुपातिक निर्वाचन प्रणालीका लागि १५ मंसिरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र १८–१९ पुसमा बन्दसूची पेस गर्ने कार्यक्रम रहेको छ।