गृहमन्त्री ओमप्रकाश अर्यालले ठूला नेताहरूको सम्पत्ति छानबिन अघि बढेपछि तत्कालीन ऊर्जामन्त्री भागिसकेको दाबी गरेका छन्।
“तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्,” मन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा बताएका छन्। उनले नाम नलिए पनि सन्दर्भ नेपाली कांग्रेस नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्कासँग मिल्ने देखिन्छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समयमा खड्का ऊर्जामन्त्री थिए। त्यस क्रममा प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनीसमेत गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले खड्काकै दबाबमा तत्कालीन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यकाल सकिन केही महिना बाँकी हुँदा पदमुक्त गरेको थियो। जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुनः घिसिङलाइ ऊर्जामन्त्री नियुक्त गरेको छ।
“ठूला नेताहरूको सम्पत्ति छानबिन सुरु”
मन्त्री अर्यालले ठूला राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सक्रिय बनाइएको बताएका छन्।
उनका अनुसार, “अब ठूला नेताका बारेमा छानबिन सुरु भइसकेको छ। कसैको भागाभागसमेत भएको छ,” भन्दै उनले राज्यका विद्यमान संयन्त्रबाटै भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाउने बताए।
भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै आयोग आवश्यक नपर्ने उनको भनाइ छ। “पहिले नै रहेका संयन्त्रहरू प्रभावकारी रूपमा चलाउन सकियो भने नयाँ संयन्त्रको आवश्यकता पर्दैन,” उनले स्पष्ट पारे।
‘भाग्न रोक्ने प्रावधान अध्ययनमा’
नेताहरू विदेश भाग्न नपाओस् भनेर कानुनी प्रावधानको अध्ययन भइरहेको मन्त्री अर्यालले बताएका छन्। “उनीहरूलाई भाग्नबाट रोक्ने व्यवस्था छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ,” उनले भने, “सम्पत्ति शुद्धीकरण विभागले विस्तृत विवरण हेरेपछि बयानका क्रममा उपस्थित गराइनेछ, र मुद्दा पेश हुँदा पक्राउ पनि गरिनेछ।”
ओलीमाथि ‘सैतानी प्रवृत्ति’को आरोप
गृहमन्त्री अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि तीव्र आक्रोश व्यक्त गरेका छन्। उनले ओलीको ‘आपराधिक लापरबाही’ (क्रिमिनल नेग्लिजेन्स) ले भदौ २४ को हिंसात्मक वितण्डा निम्त्याएको आरोप लगाए।
उनका शब्दमा, “उहाँमा सैतानी प्रवृत्ति छ, खालि भड्काउने मात्र खोज्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ, र आजसम्म सुध्रिनुभएको छैन।” अर्यालका अनुसार, जेन–जी पुस्ताको विद्रोहले ओलीलाई सत्ताबाट हटाएको हो। “उल्टो आन्दोलनकारीलाई आतंककारीझैँ व्यवहार गर्ने उहाँको दिमाग सैतानी छ,” उनले थपे, “सरकार त्यस्तो प्रवृत्तिमाथि निगरानी राखिरहेको छ।”