नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रोक्न खोज्ने सरकारी कदमप्रति कडा आपत्ति जनाउँदै सरकारलाई चेतावनी दिएका छन्। उनले मौखिक आदेशको भरमा मनपरी नगर्न आग्रह गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई काठमाडौं उपत्यका बाहिर जान नदिएकोबारे असन्तुष्टि व्यक्त गरे। उनले भने, “चुनाव गराउने रे! झापा मेरो घर जलाइयो, म त्यहाँ जान नपाउने रे! साँगा काटेर जान नपाउने रे!”
ओलीले प्रश्न गर्दै थपे, “म नेपाल सरहदभित्र जतिबेला आवश्यक हुन्छ, त्यतिबेला जान्छु। के कानुनले समाउँछ? के कानुनले थुन्छ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ। जथाभावी गर्ने? मनपरी गर्ने?”
उनले दलका नेताहरूमाथि मौखिक आदेशमार्फत रोक लगाएर चुनाव गर्ने सरकारको तयारीलाई ‘विडम्बनापूर्ण’ बताउँदै भने, “मौखिक आदेशले जे पनि गर्ने? हदबन्दी गर्ने? दलहरूलाई चुनावमा जान नदिने? अनि फागुन २१ मा चुनाव गर्ने रे? त्यो पनि वाह!”
अध्यक्ष ओलीले आफू र आफ्ना कार्यकर्ताहरू देशभित्रै रहँदै लोकतन्त्रका लागि संघर्ष गरेको स्मरण गर्दै भने, “हामी कमजोर होइनौं, हुतिहारा त झन् होइनौं।”
उनले वर्तमान अवस्थालाई लक्षित गर्दै प्रश्न उठाए, “अपराधीहरू प्रहरीको बर्दीमा हातहतियार बोकेर बुथमा आउँछ भने चुनाव हुन्छ? कि अपराधीहरूसँग सम्झौता भएको छ?”
ओलीको भनाइमा, सरकारले असंवैधानिक र मनपरी ढंगले राजनीतिक दलहरूको गतिविधि सीमित गर्न खोजिरहेको छ, जुन लोकतन्त्रको मर्म विपरीत छ।