अमेरिकी सेनाले आइतवार (इरान समयअनुसार) इरानका तीनवटा परमाणु स्थलगत केन्द्रहरूमा हवाई हमला गरेपछि विश्वभरिका नेताहरूबाट तीव्र प्रतिक्रिया आएका छन्। इसरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको खुलेर प्रशंसा गरे पनि संयुक्त राष्ट्रसंघ, इरानलगायतका धेरै देशहरूले आक्रमणको आलोचना गरेका छन्।
इसरायलको समर्थन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भिडियो सन्देशमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै भने: “राष्ट्रपति ट्रम्पलाई बधाई। तपाईंको साहसी निर्णयले इरानका परमाणु केन्द्रहरूलाई निशाना बनाएको छ। यो कदमले इतिहास बद्लिनेछ... इतिहासले लेख्नेछ कि राष्ट्रपति ट्रम्पले संसारको सबैभन्दा खतरनाक शासनलाई सबैभन्दा खतरनाक हतियारहरू प्राप्त गर्नबाट रोक्न कदम चाले।”
इरानको कडा विरोध
इरानका विदेशमन्त्री अब्बास आराकचीले सामाजिक सञ्जाल 'एक्स' (X) मा लेखेका छन्: “संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून, राष्ट्रसंघको घोषणा-पत्र र एनपीटीको गम्भीर उल्लंघन गर्दै इरानका शान्तिपूर्ण परमाणु स्थापनाहरूमा हमला गरेको छ। यी घटना घोर आपत्तिजनक छन् र दीर्घकालीन असर पार्नेछन्। इरान आफ्नो सार्वभौमिकता, हित र जनताको रक्षाका लागि आवश्यक सबै विकल्प अपनाउने अधिकार सुरक्षित राख्छ।”
राष्ट्रसंघको गम्भीर चिन्ता
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ: “म अमेरिकाले इरानमाथि गरेको बल प्रयोगबाट गम्भीर रूपमा चिन्तित छु। यो कार्यले झन् अस्थिर बनेको क्षेत्रलाई अझै खतरामा पार्दछ। यस्ता कारबाहीले नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको छ। अहिलेको संवेदनशील घडीमा सैन्य मार्ग होइन, कूटनीति र संवाद नै एकमात्र विकल्प हो।”
अन्य मुलुकहरूको प्रतिक्रिया
न्युजिल्यान्डका विदेशमन्त्री विन्सटन पिटर्सले भने: “हामी पछिल्लो २४ घण्टाका घटनाक्रमको गहिरो मूल्याङ्कन गरिरहेका छौं। हालको स्थिति अत्यन्त चिन्ताजनक छ। हामी सबै पक्षलाई वार्तामा फर्कन र कूटनीतिक समाधान खोज्न आग्रह गर्छौं।”
अष्ट्रेलियन सरकारका प्रवक्ताले भने: “इरानको परमाणु तथा मिसाइल कार्यक्रम अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा बनेको हामीले सधैं भनिआएका छौं। अहिलेको जटिल सुरक्षास्थितिमा हामी वार्ता र संयमको पक्षमा उभिन्छौं।”
मेक्सिकोको परराष्ट्र मन्त्रालयले एक्समा लेख्यो: “मध्यपूर्वमा बढ्दो तनावका बीच शान्तिको लागि तुरुन्त कूटनीतिक संवाद आवश्यक छ। क्षेत्रीय सहअस्तित्वको पुनःस्थापनालाई हामीले सर्वोच्च प्राथमिकता दिनुपर्छ।”
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले टेलिग्राममा लेखे: “संयुक्त राज्य अमेरिकाको इरानमाथिको आक्रमण, विशेषगरी फोर्दो, नातान्ज र इस्फाहान केन्द्रमाथिको बमबारीको हामी कडा निन्दा गर्छौं। यो कदम इजरायलको निर्देशनमा भएको अमेरिकी आक्रोशको अभिव्यक्ति हो।”
क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले एक्समा लेखे: “इरानका परमाणु केन्द्रमाथिको अमेरिकी बमबारीको हामी दृढ विरोध गर्छौं। यो कदमले विश्वलाई गम्भीर संकटतर्फ धकेल्नेछ र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन हो।”