वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पछिल्ला दिनमा नेपाल विद्युत प्राधिकरणद्वारा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसहित वीरगञ्ज क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ्ग र बिना सूचना विद्युत् कटौतीप्रति गम्भीर आपत्ति जनाएको छ।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा बारा–पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा दिनको औसत ८ घण्टा अघोषित लोडसेडिङ्ग हुनुका साथै १० देखि १२ पटकसम्म ट्रिपिङ्ग हुने उल्लेख गरिएको छ। यसका कारण यहाँका उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको मात्र ३०–३५ प्रतिशत उत्पादन गर्न सक्ने अवस्था रहेको बताइएको छ।
वि.सं. २०७३ मा घरायसी तथा २०७५ मा औद्योगिक क्षेत्रलाई लोडसेडिङ्ग मुक्त घोषणा गरिएको भए पनि पछिल्लो समय पुनः त्यही अवस्था दोहोरिँदा उद्योगी–व्यवसायी र सर्वसाधारण चिन्तित बनेका छन्। वीरगञ्ज क्षेत्रमा सिमेन्ट, फलाम, स्टील, खाद्यवस्तु, औषधि, चुरोटजस्ता ठूला उद्योगहरू सञ्चालनमा छन्, जसमा करिब १,२०० उद्योग समावेश छन्।
सङ्घले विद्युत् आपूर्ति नभए उद्योग नै चल्न नसक्ने उल्लेख गर्दै विद्युत् प्राधिकरणको लापरवाहीका कारण करोडौंको औद्योगिक उपकरण नष्ट हुने, लागत बढ्ने र उत्पादन ठप्प हुने स्थिति सिर्जना भएको बताएको छ।
“नेपाल विद्युत प्राधिकरणले भारत र बङ्गलादेशमा विद्युत् बिक्री गर्छ भन्ने समाचार त सुन्छौं, तर आफ्नै देशका औद्योगिक क्षेत्रहरूलाई पर्याप्त विद्युत् दिन नसक्नु अत्यन्त दुःखद र बुझ्न नसकिने विषय हो,” विज्ञप्तिमा भनिएको छ।
सङ्घले विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपन कायमै रहे उद्योग सञ्चालन गर्न नसकिने र सरकारलाई चाबी बुझाउन बाध्य हुने चेतावनी दिएको छ। साथै, समस्या समाधानका लागि तुरुन्त कदम चाल्न र वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ।
सङ्घले विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकार, प्राधिकरण र सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक पहलका लागि जोडदार माग राखेको छ।
