गुप्तकाशीबाट केदारनाथधामका लागि उडेको आर्यन एभिएसन कम्पनीको हेलिकप्टर रुद्रप्रयागको गौरीकुण्ड–सोनप्रयाग क्षेत्रको जङ्गलमा दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा पाइलटसहित सबै ७ जनाको ज्यान गएको पुष्टि भएको छ। खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनाग्रस्त हेलिकप्टर केदारनाथ धामबाट फाटा फर्कंदै थियो। यस क्रममा मौसम एक्कासी खराब भएपछि हेलिकप्टरले आकस्मिक अवतरणको प्रयास गर्दा दुर्घटना भएको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार हेलिकप्टरमा क्षमताभन्दा बढी यात्रु सवार थिए।
उत्तराखण्ड प्रहरीका एडीजी (कानून व्यवस्था) डा. वी. मुरुगेशनले गौरीकुण्डमा हराएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको पुष्टि गरेका छन्। हेलिकप्टरमा कुल ६ श्रद्धालु र १ पाइलट गरी ७ जना सवार थिए।
दुर्घटनाको विवरण
आज बिहान ५ बजेर १७ मिनेटमा आर्यन कम्पनीको हेलिकप्टरले ६ जना श्रद्धालु लिएर केदारनाथ हेलीप्याडबाट गुप्तकाशीका लागि उडान भरेको थियो। मौसम खराब भएका कारण हेलिकप्टरले वैकल्पिक स्थानमा हार्ड ल्याण्डिङको प्रयास गर्दा दुर्घटना भएको हो।
हेलिकप्टरमा सवार व्यक्तिहरूको नामावली:
मुख्यमन्त्री पुष्कर सिंह धामीको प्रतिक्रिया
मुख्यमन्त्री धामीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “जनपद रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना भएको अत्यन्त दुःखद समाचार प्राप्त भएको छ। एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेका छन्। म बाबा केदारनाथसँग सबैको सकुशलताको कामना गर्दछु।”
चारधामको हेलिकप्टर सेवा स्थगित
दुर्घटनापछि उत्तराखण्ड सिभिल एभिएशन डेभलपमेन्ट अथोरिटी (UCADA) र नागरिक उड्डयन महानिर्देशालय (DGCA) ले चारधाम क्षेत्रमा सञ्चालनमा रहेका सम्पूर्ण हेलिकप्टर सेवामा अर्को सूचना नआएसम्मका लागि रोक लगाएको छ।