सडक अनुशासन बिना सुरक्षित यात्रा सम्भव छैन, र यही सन्देशलाई जन–जनमा पुर्याउने उद्देश्यले आयोजित ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ आज वीरगन्जमा भव्य समारोहका साथ सम्पन्न भएको छ। ट्राफिक नियम पालना गरौं, दुर्घटना टारौं भन्ने सारगर्भित अभियानले पर्साका सडकहरूमा जनचेतनाको उज्यालो फैलाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साद्वारा आयोजित एक हप्ते अभियानले सडक सुरक्षा र नागरिक उत्तरदायित्वप्रति सजगता बढाएको विश्वास लिइएको छ। सप्ताह भरि सचेतनामूलक ¥याली, विद्यालयस्तरीय अन्तरक्रिया, पर्चा–पोस्टर वितरण, हेल्मेट वितरण तथा सवारी साधन चेकजाँचजस्ता विविध कार्यक्रम सञ्चालन गरिएको थियो।
वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले कार्यक्रमको प्रशंसा गर्दै भने, “दुर्घटना न्यूनीकरणमा ट्राफिक सप्ताहले महत्वपूर्ण प्रभाव पार्नेछ। महानगरले यस्ता अभियानमा हातेमालो गर्दै निरन्तरता दिनेछ।”
उपप्रमुख इम्तियाज आलमले ट्राफिक प्रहरीको सक्रियता र जनचेतना अभियानको प्रसंसा गर्दै यसलाई निरन्तर कार्यक्रमका रूपमा लैजानुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले गरेका थिए। समारोहमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू—जसमा श्री जंग गण वीरगन्जका प्रमुख निराजन कटुवाल, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ अध्यक्ष हरि गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, सशस्त्र प्रहरी बल १३ नं. गण प्रमुख एसपी राधेश्याम धिमाल, तथा अन्य संघ–संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सप्ताह समाप्त भए पनि जनचेतना फैलाउने यो यात्रा भने अब सुरु भएको मात्र हो।