क्रिस्टियानो रोनाल्डो आँशुमा थिए, जब उनले आफ्नो देश पोर्चुगलका लागि तेस्रो प्रमुख उपाधि जिते — युरोपियन नेशन्स लिग।
पोर्चुगलले आफ्नो छिमेकी तथा पुराना प्रतिस्पर्धी स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।
हाल साउदी अरबको अल-नास्र क्लबमा खेलिरहेका ४० वर्षीय रोनाल्डोले खेलको ६१औँ मिनेटमा नजिकैबाट गोल गर्दै खेल २–२ मा ल्याएका थिए। यसले उनलाई अन्तर्राष्ट्रिय फुटबलमा ९३८ गोलमा पुर्याएको छ, जुन एक कीर्तिमान हो। यो प्रतियोगितामा उनले ९ खेलमा ८ गोल गरेका छन्, स्वीडेनका विक्टर ग्योकरेसभन्दा मात्र एक गोलले पछाडि।
रोनाल्डो खेलको ८८औँ मिनेटमा प्रतिस्थापन भए पनि उनले यसअघि नै खेलमा महत्वपूर्ण योगदान दिइसकेका थिए।
स्पेनका लागि यो पछिल्लो तीन वर्षमा पहिलो चोटि कुनै प्रमुख उपाधि गुमाएको हो। उनीहरूले २०२३ को नेशन्स लिग र २०२४ को युरो जितेका थिए। यसपटक पनि उनीहरू फ्रान्सलाई ५–४ ले हराउँदै फाइनल पुगेका थिए। तर, रोनाल्डोको नेतृत्वमा पोर्चुगलले तिनलाई रोक्न सफल भयो।
नुनो मेन्डेसको प्रभावशाली प्रदर्शन
यो जितमा डिफेन्डर नुनो मेन्डेस पनि चम्किए। उनले स्पेनका किशोर स्टार लामिन यामाललाई पुरै खेलभरि निष्क्रिय बनाए र एक गोल पनि गरे। उनले पोर्चुगलको पहिलो बराबरी गोल गरेका थिए।

२२ वर्षीय मेन्डेसले खेलमा ४ सफल ड्रिबल, सबैभन्दा धेरै अपोजिसन बक्स टच, ७ द्वन्द्व जित र सबैभन्दा धेरै १६ पासहरू फाइनल थर्डमा पुर्याएका थिए। युएफएका प्राविधिक अवलोकनकर्ताहरूका अनुसार, "उनले आक्रमण र रक्षामा अद्भुत योगदान दिए।"
'यो आँशु हो, कर्तव्य पूरा भएको हो' – रोनाल्डो
जितपछि रोनाल्डोले भने, "पोर्चुगलका लागि जित्नु सधैं विशेष हुन्छ। मैले क्लबस्तरमा धेरै उपाधि जितेको छु, तर राष्ट्रका लागि जित्नु भन्दा ठूलो केही हुँदैन। यो आँशु हो, कर्तव्य पूरा भएको हो र अपार खुसी पनि।"
उनले लामिन यामालसँगको कथित 'द्वन्द्व'बारे भनेका थिए, "यो म र अर्का खेलाडीबीचको भिडन्त होइन। यो दुई राष्ट्रबीचको प्रतिस्पर्धा हो। "
यामालले फ्रान्सविरुद्ध सेमिफाइनलमा दुई गोल गरेका थिए तर फाइनलमा उनी विशेष प्रभावशाली हुन सकेनन्। चार पटक प्रहार गरे तापनि, सबै लामो दूरीबाट मात्र थिए।
रोबर्टो मार्टिनेजको भविष्य ?
यो उपाधि पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको पहिलो अन्तर्राष्ट्रिय सफलता हो। बेल्जियमको 'गोल्डेन जेनेरेशन' सँग उनी केही जित्न नसकेपछि आलोचना खेपिरहेका थिए। २०१३ मा विगनसँग एफए कप जितेपछि यो उनको पहिलो ट्रफी हो।

तर पोर्चुगल फुटबल महासंघका नयाँ अध्यक्ष उनलाई हटाउने तयारीमा रहेको हल्ला चलिरहेको छ। गुइलेम बालागुएका अनुसार, "नयाँ अध्यक्ष जोसे मोउरिन्हो वा जोर्ज जेससलाई प्रशिक्षक बनाउन चाहन्छन्। तर अब कसरी मार्टिनेजलाई हटाउने?"
मार्टिनेजले जनवरी २०२३ मा पोर्चुगलको बागडोर सम्हालेका थिए र २०२६ विश्वकपसम्मको करारमा छन्।