क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको १३७औं गोल गर्दै पोर्चुगललाई जर्मनीमाथि २–१ को जित दिलाएपछि युएफा नेशन्स लिगको फाइनलमा प्रवेश गराएको छ।
४० वर्षीय रोनाल्डोले नुनो मेन्डेसको लो पासलाई ६८औं मिनेटमा जाली चुमाउँदै निर्णायक गोल गरे। यो गोल पाँच मिनेटअघि फ्रान्सिस्को कोन्सेसाओले बराबरी गोल गरेपछि आएको थियो।
म्युनिखमा भएको खेलमा जर्मनीले शुरुवातमा अग्रता लिएपनि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो, जहाँ उनीहरूले फ्रान्स वा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विर्ट्जको गोल र पोर्चुगलको आपत्ति
खेलको ४८औं मिनेटमा बायेर लेभरकुसेनका फर्वार्ड फ्लोरियन विर्ट्जले जोशुआ किम्मिचको १००औं खेलमा गरेको उत्कृष्ट पासमा हेड गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर पोर्चुगलले जर्मन डेब्युटेन्ट निक वोल्टेमाडेले डिफेन्डर रुबेन डियासलाई रोकिएको भन्दै गोललाई आपत्ति जनाए पनि, भिडियो रिभ्युपछि पनि रेफ्री स्लाभको भिन्चिकले गोल मान्य गरे।
कोन्सेसाओको प्रभावशाली प्रदर्शन
खेलमा ५८औं मिनेटमा मैदान छिरेका कोन्सेसाओले ६३औं मिनेटमा दायाँ विंगबाट बल बोकेर भित्र पसेर उत्कृष्ट कर्लिङ शटमा बराबरी गोल गरे। कोन्सेसाओका बुवा सर्जियो कोन्सेसाओले पनि सन् २००० युरो कपमा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए, जुन खेल पोर्चुगलले ३–० ले जितेको थियो।
पोर्चुगलको जित सुनिश्चित गर्ने रोनाल्डोको गोल
बराबरीपछि खेलमा दबदबा जमाएको पोर्चुगलका लागि रोनाल्डोले क्लोज रेन्जबाट सहज ट्याप इन गर्दै २–१ को अग्रता दिलाए। जर्मनीले अन्त्यतिर सम्हालिन खोजे पनि करिम अदेयेमीको प्रहार पोस्टमा लागेर बाहिरिन पुग्यो।
अन्तिम अवसर र इतिहास
खेलको अन्त्यतिर टेर स्टेगनले लिभरपुलका डिओगो जोटा र कोन्सेसाओको प्रयासलाई रोके पनि पोर्चुगलले सन् २००० यता जर्मनीविरुद्ध पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा जित निकाल्न सफल रह्यो।
यो युरोपेली नेशन्स लिगको चौथो संस्करण हो। सन् २०१९ मा पहिलो उपाधि पोर्चुगलले जितेको थियो भने फ्रान्सले २०२१ मा र स्पेनले २०२३ मा उपाधि जितेका थिए।
अब फाइनल म्युनिखमा आइतवार हुनेछ, जसमा पोर्चुगलले फ्रान्स र स्पेनबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।