आरिफ शेखले करियरकै उच्च ७८ रनको विस्फोटक पारी खेलेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्समाथि ५ विकेटको सानदार जित निकालेको छ।
नेदरल्याण्ड्सले दिएको २२५ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। आरिफले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए, जुन उनको एकदिवसीय करियरको सर्वाधिक स्कोर हो। उनले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीसँग क्रमशः ५५ र ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पु¥याए।
दिपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहे भने गुल्शन झाले अन्तिमतिर विजयी छक्का प्रहार गर्दै ११ रन बनाए। कुशल भुर्तेलले २५, रोहितले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रनको योगदान दिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ४९.१ ओभरमा २२५ रनमै समेटिएको थियो। नोआह क्रोएसले ४८, कप्तान स्कट एड्वर्ड्सले ४६ र विक्रमजित सिंहले ३८ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए।
यो जितसँगै नेपालले लिग २ मा पहिलोपटक लगातार दुई खेल जितेको हो। यसअघि नेपालले सोमबार स्कटल्याण्डलाई हराएको थियो। अब नेपालले जुन ८ मा पुनः स्कटल्याण्डसँग खेल्नेछ।