पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि फ्रान्सभर मनाइएको विजय उत्सव हिंस्रक बन्दै जाँदा ५५९ जना पक्राउ परेका छन् भने २ जनाको मृत्यु भएको छ।
फ्रान्सको गृहमन्त्रालयले आइतबार दिएको प्रारम्भिक विवरण अनुसार पेरिसमा मात्र ४९१ जना पक्राउ परेका थिए, जसमध्ये २५४ जना प्रहरी हिरासतमा छन्।
शनिबार राति इटालियन क्लब इन्टर मिलानमाथि ३–० को सानदार जितपछि राजधानी पेरिससहित देशभर उन्मादी उत्सव सुरु भएको थियो। तर, उत्सव बेकाबु बन्दै जाँदा बस स्टप तोडफोड, सवारी साधन जलाउने र प्रहरीमाथि आक्रमण जस्ता घटना घटेका हुन्।
पेरिस प्रहरी प्रमुख लोरेन नुनेजका अनुसार एउटा दुर्घटनामा बीस वर्षिय युवकको गाडी ठोक्किँदा ज्यान गएको छ भने दक्षिणपश्चिमी शहर डाक्समा १७ वर्षीय किशोरको छुरा प्रहारबाट मृत्यु भएको छ।
“दुर्घटनाको न्यायिक अनुसन्धानबाट यो उत्सवसँग सम्बन्धित हो कि होइन भन्ने पुष्टि हुनेछ,” नुनेजले बताए, “हालसम्मका संकेतहरू हेर्दा उत्सवकै क्रममा भएको देखिन्छ।”
च्याम्प्स–एलीसेज मार्गमा हजारौं समर्थकको भीडले बस स्टप तोडफोड गरेका थिए भने प्रहरीमाथि वस्तु प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर भिड तितरबितर पार्नुपरेको थियो।
गृहमन्त्रालयका अनुसार शनिबार राति मात्रै २०० भन्दा बढी सवारीसाधन जलाइएका छन्। सुरक्षाकर्मीका २२ जना र ७ जना दमकलकर्मी घाइते भएका छन्।
आज आइतबार पनि पीएसजीको उपाधि यात्रालाई लिएर पेरिसमा विशाल परेड आयोजना गरिँदैछ।
“हामी अहिलेसम्म खेलको पहिलो हाफमा मात्र छौं,” नुनेजले भने, “आज दिउँसो च्याम्प्स–एलीसेजमा हुने परेडमा करिब १ लाख दर्शकको सीमा तोकिएको छ — त्यो भन्दा बढीलाई प्रवेश दिइने छैन।”
साँझमा पीएसजीले आफ्ना समर्थकहरूसँग पार्स दे प्रिन्स रंगशालामा थप उत्सव मनाउनेछ। प्लास द ला पोर्त दे सान्त क्लोद क्षेत्रमा पनि भिडभाडको सम्भावना रहेकाले सुरक्षाबल सतर्क अवस्थामा छन्।
शुक्रबार नै नुनेजले संभावित उत्सवलाई ध्यानमा राख्दै पेरिसमा ५,४०० सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिएका थिए।