नभएको ठाउँबाट सम्भावना निकाल्ने नाम हो करण केसी। नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले खेलको रङै पल्टाइदिए – न त अनुभवले, न त क्रमले रोक्न सके उनलाई।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली स्कटल्याण्डविरुद्ध नेपालले इतिहास रच्ने जित हात पारेको छ। २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले अन्तिम बलमा १ विकेटको रोमाञ्चक जित निकाल्दै एकदिवसीय क्रिकेटको कीर्तिमानी रन चेज गरेको हो।
अन्तिम ओभरको नाटक र करणको नायकत्व
१९२ रनमा ७ विकेट गुमाएको नेपाललाई जब हार नजिक देखिन्थ्यो, त्यहीबेला उदाए करण केसी। उनले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएर म्यान अफ द म्याच बने। अन्तिम ओभरको अन्तिम बलमा जितको लागि १ रन आवश्यक रहँदा वाइड बलमा बाइको रन लिएर नेपालले खेल जित्यो।
गुल्सनको आक्रामकता र साझेदारी
करणलाई साथ दिएका गुल्सन झाले ४२ रन बनाए। आठौं विकेटका लागि दुवैले ६० रनको महत्वपूर्ण साझेदारी गरे। अन्तिम ६ ओभरमा ६८ रन आवश्यक रहेको अवस्थामा आक्रामक ब्याटिङ गर्दै नेपालको सम्भावनालाई जीवन्त बनाए।
नेपालको ओडीआई इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पूरा
यसअघि नेपालले ओडीआईमा सबैभन्दा ठूलो लक्ष्य २८७ रन (क्यानडाविरुद्ध) सफलतापूर्वक पछ्याएको थियो। स्कटल्याण्डविरुद्धको २९७ रनको रनचेज नेपाली क्रिकेटको नयाँ इतिहास बन्यो।
स्कटल्याण्डको प्रदर्शन
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो। चार्ली टियरले ८० रन, फिनले म्याकरिथले ५५, रिची बेरिङटनले ४० रन बनाए।
बलिङमा पनि चम्किए करण
बलिङतर्फ पनि करणले उत्कृष्ट योगदान दिए। १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चिएर २ विकेट लिएका उनले खेलको दुवै इन्फेजमा आफ्नो प्रभाव छाडे। सन्दीप लामिछानेले १ विकेट लिए भने सोमपाल कामी र रिजन ढकालले समान २-२ विकेट लिए।
अंकतालिकामा नेपालको सुधार
यस जितसँगै नेपाल १३ खेलबाट ८ अंक जोड्दै लिग २ को अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलबाट २० अंकसहित चौथो स्थानमा छ।