कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्करबाट पत्रकार गोविन्द देवकोटा पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल पर्साले बिहीबार २१ हजार रुपैयाँ नगदसहित सो पुरस्कार प्रदान गरेको हो ।
विगत ३ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय देवकोटा सामुदायिक रेडियो प्रसारकहरुको संस्था अकुरावका वरिष्ठ उपाध्यक्ष पनि हुन् । वीरगञ्जलाई आधार बनाएर पत्रकारिता गरेका उनी वीरगञ्जको सामुदायिक रेडियो नारायणी र रेस खबर डट कममा संस्थापक हुन् । त्यस्तै कृष्ण सेन इच्छुक सक्रिय पत्रकारिता पुरस्करबाट वीरगञ्जकै पत्रकार रितेन्द्र झा पुरस्कृत भएका छन् । उनले पनि २१ हजार रुपैयाँ नगदसहित सम्मानपत्र पाएका छन् ।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलको संयोजकत्वमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ याथव र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल सदस्य रहेको पुरस्कार छनोट समितिले देवकोटा र झालाई पुरस्कार दिने निर्णय गरेको हो ।
प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती मगरले दुवै पत्रकारलाई नगद राशिसहित दोसल्ला, टिका, माला र सम्मानपत्र प्रदान गरेका थिए।
अध्यक्ष गिरिले शहीद पत्रकार कृष्ण सेन इच्छुकको योगदान स्मरण गर्दै प्रेस स्वतन्त्रता र सत्य–तथ्यमा आधारित पत्रकारिताको आजको समयमा पनि उत्तिकै आवश्यकता रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसचिव दीपेन्द्र चौहानले पत्रकारले समाजका लागि पत्रकारिता गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगरलगायतले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सहकार्यको आवश्यकता औंल्याए ।
त्यसअघि प्रेस सेन्टर पर्साका आयोजनामा संगठनमा आवद्ध पत्रकारहरुका लागि क्षमता अभिवृद्धिबारे कार्यशाला आयोजना गरिएको थियो