गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको मुख्य स्रोत समुद्री सतहबाट ५ हजार ५०० देखि ६ हजार ५०० मिटर उचाइमा रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार उच्च हिमाली क्षेत्रमा पहिरो वा हिमपहिरो खसेपछि बाढी आएको हुन सक्ने देखिएको छ ।
केन्द्रले आइतबार राति सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन–१’ मा हिमाली क्षेत्रबाट सुरु भएको पहिरो वा हिमपहिरोले ३ हजार ५०० मिटरभन्दा बढीको ठाडो उचाइ पार गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक स्यार खोलासम्म प्रभाव पारेको उल्लेख छ । स्यार खोला बूढीगण्डकी नदीको सहायक नदी हो ।
प्रतिवेदनअनुसार बूढीगण्डकी र स्यार खोलाको तल्लो उपत्यका समुद्री सतहबाट करिब १ हजार ४०० देखि २ हजार ८०० मिटर उचाइमा अवस्थित छ । यस क्षेत्रमा चुम्चेत, चुम्लिङ, रिप्चेत र च्याउललगायतका मानव बस्ती रहेका छन् । माथिल्लो क्षेत्रमा भने ५ हजार ६०० देखि ७ हजार मिटरभन्दा अग्ला हिमाली चुचुराहरू छन् ।
केन्द्रका अनुसार असोज २५ गते बिहान करिब ६ बजे बाढी पूर्वानुमान महाशाखामा स्यार खोलातर्फबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । प्रारम्भिक सूचना र उपलब्ध भू–उपग्रह तस्बिरको विश्लेषण गर्दा हिमाली क्षेत्रमा खसेको पहिरोले स्यार खोला थुनिएर अस्थायी प्राकृतिक बाँध बनेको र त्यसपछि पानीको आकस्मिक बहाव आएको हुन सक्ने देखिएको छ ।
यस घटनाको विश्लेषणका लागि सेन्टिनेल–२ भू–उपग्रहबाट अक्टोबर ६ र ११ मा खिचिएका तस्बिरहरू अध्ययन गरिएको केन्द्रले जनाएको छ । अक्टोबर ६ को तस्बिरमा मुख्य खोँच र डाँडाहरूमा छरिएको हिमपात तथा चट्टानी ढलान देखिएको थियो । तर, अक्टोबर ११ को तस्बिरमा माथिल्लो हिमाली क्षेत्रमा व्यापक नयाँ हिमपातसँगै पहाडको माथिल्लो भागबाट तल्लो उपत्यकातर्फ झरेको गाढा कालो धब्बा र बहावको रेखा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रका अनुसार उक्त दृश्यले उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो वा चट्टान, माटो र गेग्य्रानसहितको पहिरो गएको सम्भावनालाई संकेत गर्छ । तीव्र गतिमा तल झरेको गेग्य्रानले बाटोमा रहेका वनस्पति र माटो बगाएको हुन सक्ने विश्लेषण गरिएको छ ।
प्रतिवेदनमा चुम्लिङ र रिप्चेतनजिक मुख्य नदीको दोभानमा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको देखिएको पनि उल्लेख छ । उक्त गेग्य्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा अवरोध सिर्जना गरेको वा नदी थुनिएको हुन सक्ने केन्द्रको अनुमान छ । यस्तो अवरोधपछि पानी एक्कासि बग्दा तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव परेको हुन सक्ने देखिएको छ ।
यद्यपि, बाढीको वास्तविक कारण र घटनाक्रम पुष्टि गर्न विस्तृत भू–आकृतिक अध्ययन, थप भू–उपग्रह तस्बिर तथा अन्य उपलब्ध तथ्यहरूको विश्लेषण आवश्यक रहेको केन्द्रले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रतिवेदनमा उल्लेख छ ।