दसैँको अवसर पारेर वीरगञ्जस्थित प्रसिद्ध गहवा माई मन्दिरलाई समर्पित नयाँ धार्मिक भजन ‘हमरा गहवा माईके’ सार्वजनिक गरिएको छ।
बुधबार गहवा माई मन्दिर परिसरमा आयोजित कार्यक्रममा तीर्थ विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), मन्दिरका पुजारीलगायतको उपस्थितिमा भजन सार्वजनिक गरिएको हो।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले गहवा माईप्रति समर्पित भजनले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए। आयोजकले दसैँको अवसरमा सार्वजनिक गरिएको भजन सुनेर माया, स्नेह र आशीर्वाद प्रदान गरिदिन भक्तजन तथा शुभेच्छुकसँग आग्रह गरेका छन्।
‘हमरा गहवा माईके’मा चन्दन पण्डितको स्वर रहेको छ भने गौरव रोशनले संगीत दिएका छन्। भजनका रचनाकार उमा लाल यादव हुन्। भिडियोमा अन्नु मेहता, चन्दन पण्डित, अनिशा सिंह र रजनिकान्त दुबेको अभिनय रहेको छ।
भजनको निर्माण नितेश मेहता र राज सोनीले गरेका छन् भने निर्देशन देशीब्वाय नवीन नेपालीले गरेका हुन्। भिडियोको छायांकन (डीओपी) निखिल सन्तोष शाह, मेकअप मधु चौधरी र रेकर्डिङ अटुट म्युजिकले गरेको जनाइएको छ। डिजिटल व्यवस्थापन गोसाई मिडिया सोलुसन्स (वीरेन्द्र गिरी)ले गरेको छ।
आयोजकका अनुसार भजन निर्माणमा करिब १ लाख रुपैयाँ खर्च भएको छ। भिडियोको अधिकांश छायांकन गहवा माई मन्दिर परिसरमै गरिएको बताइएको छ।
एनआर म्युजिक रेकर्डस्को प्रस्तुतिमा तयार भएको भजनमा धार्मिक तथा पारिवारिक विषयवस्तुलाई प्राथमिकता दिइएको छ। आयोजकका अनुसार एनआर म्युजिक रेकर्डस्ले यसअघि पनि विभिन्न धार्मिक तथा पारिवारिक भिडियो निर्माण गर्दै आएको छ।
दसैँको धार्मिक माहोलसँगै गहवा माईप्रतिको श्रद्धा र आस्थालाई समेटिएको ‘हमरा गहवा माईके’ भजनले भक्तजन तथा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।