युवा साहित्यकार वसन्त खनालद्वारा लिखित निर्बन्ध आख्यान कृति ‘वेध’ लोकार्पण गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गरेका हुन् ।
कृतिको लोकार्पण गर्दै कुलपति न्यौपानेले ‘वेध’ नेपाली साहित्यका क्षेत्रमा महत्त्वपूर्ण र विशिष्ट प्रकृतिको सिर्जनाका रूपमा आएको बताए । उनले यो कृति प्रयोगका लागि मात्रै गरिएको प्रयोग नभई कठोर साधना र अनुसन्धानपछि तयार भएको सिर्जना भएको उल्लेख गरे । ‘वेध’ आफ्नो स्वरूप स्पष्ट पार्दै सार्वजनिक भएको कृति भएकाले यसलाई पढ्नैपर्ने र गर्व गर्न लायक रहेको उनको भनाइ थियो ।
साहित्य, कला र भाषाको संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्दै न्यौपानेले साहित्यकार तथा स्रष्टाको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भाषा शुद्ध रूपमा लेख्ने र बोल्ने अभियानमा समेत प्रतिष्ठान सक्रिय रहेको बताए ।
कार्यक्रममा साहित्यकार एवं सहप्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा. टंक पन्थ, समालोचक एवं स्रष्टा डा. शंकरप्रसाद गैरे, वालिङ नगरपालिका–१४ का वडाध्यक्ष राजु कुँवर (बोधराज), रणवीर माध्यमिक विद्यालय खहरेका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए । लेखक वसन्त खनाल र रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापाले पनि कार्यक्रममा आफ्ना धारणा राखेका थिए ।
युवा साहित्यकार मिलन समीरको सञ्चालन र सागर खनालको स्वागत मन्तव्यबाट सुरु भएको समारोहको अध्यक्षता कृतिकार खनालका पिता सूर्यप्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा पहिलो पुस्ताका अग्रज साहित्यकार तथा स्रष्टालाई सम्मान गरिएको थियो । जिल्लामा सक्रिय साहित्यिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कृतिको मूल्य ७५० रुपैयाँ निर्धारण गरिएको छ । कृतिका लागि स्याङ्जा र काठमाडौंमा वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान–२०७६ तथा काठमाडौंको बागबजारस्थित भुँडीपुराण प्रकाशन गृहलाई सम्पर्क विन्दु तोकिएको छ । देशभर वितरणका लागि चितवनको भरतपुरस्थित सम्पूर्ण किताब र स्थानीय बिक्रीका लागि वालिङको नयाँबजारस्थित विद्या बुक्स एन्ड स्टेशनरीमा उपलब्ध हुने कृतिमा उल्लेख छ ।