नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी रहँदा विभिन्न पदमा उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म १ हजार २२९ मत गणना हुँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिएका छन्।
खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा चन्द्र भण्डारीले ६४३ मत प्राप्त गरेका छन्। त्यस्तै, इ. मधु आचार्यले ३६२, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्राध्यापक डा. चन्द्रमोहन यादवले १२९ मत पाएका छन्।
समावेशी उपसभापतिको एक पदमा विनोद चौधरीले ३५७ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३००, फरमुल्लाह मन्सुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गरेका छन्।
खुला महामन्त्रीका दुई पदमा प्रदीप पौडेलले ७२३ मतसहित अग्रता कायम गरेका छन्। अमरसिंह पुन मगरले ४५५ मत पाएका छन्। त्यस्तै, उदयशमशेर राणाले ४१२, सुनिल शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’बीच कडा प्रतिस्पर्धा देखिएको छ। संग्रौलाले ५३६ मत प्राप्त गर्दा उपाध्यायले ५१३ मत पाएकी छन्। अर्की उम्मेदवार रीता खनालले १४७ मत प्राप्त गरेकी छन्।
अन्य पदको मतगणना भने सुरु भएको छैन। मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाम फेरबदल हुन सक्नेछ।