नेपाल खेलकुद महासंघ वीरगञ्ज महानगर कमिटीको दोस्रो महानगर भेला नेकपा एमाले पर्साको कार्यालयमा सम्पन्न भएको छ। भेला नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगर इन्चार्ज राजाबाबु रौनियारको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल खेलकुद महासंघका सचिव तथा मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ता थिए। त्यस्तै, विशिष्ट अतिथि रूपमा नेकपा एमाले महानगर कमिटीका स्थायी कमिटी सदस्य तथा उपाध्यक्ष रामकिशोर सिंह (पराग) तथा अन्तर्राष्ट्रिय भारोत्तोलन रेफ्री प्रदीप कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
भेलाले ११ सदस्यीय नयाँ महानगर कमिटी गठन गरेको छ। नवगठित कमिटीमा अध्यक्ष पदमा प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुबोध पौडेल चयन भएका छन्। उपाध्यक्षमा पर्सा शारीरिक सुगठन तथा फिटनेस संघका दीपराज बर्णवाल, सचिवमा पर्सा बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मी, तथा सह–सचिवमा १७ पटक राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी तथा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला भारोत्तोलन रेफ्री निता थापा चयन भएकी छन्।
त्यसैगरी, सदस्यहरूमा अन्तर्राष्ट्रिय जुडो खेलाडी तथा १४ पटकका स्वर्ण पदक विजेता प्रमोद रौनियार, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महमद वेश, पूर्व जिल्ला खेलकुद समिति सदस्य निरज बर्णवाल, बिक्रम तामाङ, मुक्ति चौधरी, बिक्रान्त साह, र बिक्रम साह रहेका छन्।
भेलाले वीरगञ्जमा खेलकुद गतिविधिलाई अझ सक्रिय बनाउने, युवाहरूको सहभागिता बढाउने तथा स्थानीय र राष्ट्रियस्तरमा खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरेको हो। कार्यक्रमका अतिथिहरूले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिँदै खेलकुद क्षेत्रको समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।