१३ वर्षदेखि अलपत्र रहेको बंगरी नदीको पुल निर्माण कार्यमा ढिलाइ भएपछि नेकपा (एकीकृत समाजवादी) का सांसद किसान श्रेष्ठले ठेकेदारहरूलाई कठोर चेतावनी दिएका छन् । उनले १५ जेठभित्र काम नसके ठेकेदारलाई खोलामै गाडिदिने धम्की दिए ।
बाराको पर्सौनी र कलैया जोड्ने बञ्जरीया स्थित सो पुलको मंगलबार निरीक्षण गर्दै सांसद श्रेष्ठले निर्माणको जिम्मा लिएका दुई ठेकेदार कम्पनीलाई कडाभन्दा कडा शब्दमा भने, ‘१५ जेठभित्र मलाई फाइनल चाहियो, नत्र खोलामा गाड्छु । प्लिज, मैले एकदम भद्र भएर बोल्या छु ।’
यो पुल बाराको जितपुरसिमरा उपमहानगरपालिका र पर्सौनी गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य मार्गमा पर्छ । तर निर्माण सुरु भएको १३ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
२०७९ सालको निर्वाचनमा सांसद श्रेष्ठले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । पुलको संरचना त निर्माण भइसकेको छ, तर एप्रोच रोड नबनेकै कारण सो पुल प्रयोगमा आउन सकेको छैन । यसले स्थानीयहरूलाई आवतजावतमा गम्भीर समस्या बनाएको छ ।
सांसद श्रेष्ठले सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीसहित प्राविधिक टोली लिएर मंगलबार निरीक्षणमा पुगेका थिए । निरीक्षणकै क्रममा उनले ठेकेदारहरूलाई निर्देशन दिंदै भने, ‘भोलिदेखि काम सुरु हुनु पर्छ । आज बेलुकासम्म एक्साभेटर र टिपर देखिनुपर्छ । १५ गतेसम्म ढलान सकिएर काम फाइनल हुनैपर्छ ।’
उनले उपस्थित इन्जिनियर र डिभिजन प्रमुखलाई पनि चेताउँदै भने, ‘यहाँ इन्जिनियर र डिभिजन प्रमुखकै अगाडि बोलेको छु । अब ढिलाइ सह्य हुँदैन ।’