चलचित्र पत्रकारितालाई सशक्त, मर्यादित र अनुसन्धानमुखी बनाउने प्रतिबद्धता सहित चलचित्र पत्रकार संघ नेपाल पर्साको प्रथम अधिवेशन वीरगञ्जस्थित पब्लिक कलेजमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सूर्यनारायण विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै चलचित्र पत्रकारहरूको व्यावसायिक हक–हित संरक्षणमा अग्रसर हुने घोषणा गरेको छ।
‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यावसायिक पत्रकारिताका लागि सञ्चारकर्मीको मूल नारा’ भन्ने मूल मन्त्रका साथ सम्पन्न अधिवेशन संघकी अध्यक्ष नीलिमा पौडेलको अध्यक्षतामा आयोजित गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रूपमा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, मधेस प्रदेश पत्रकार महासंघ अध्यक्ष श्याम बन्जरा, वरिष्ठ पत्रकार नन्दु श्रीवास्तव, नवराज भण्डारी र ज्ञानदा एकेडेमी प्रमुख राजेन्द्र प्रसाद कोइरालालगायत विशिष्ट अतिथिको सहभागिता रहेको थियो।
वक्ताहरूले चलचित्र पत्रकारिताको विकास, वर्तमान चुनौती र सम्भावनाबारे धारणा राख्दै यस विधालाई अनुसन्धान, तथ्य र विश्वसनीयतामा आधारित बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि डा. शाक्यले चलचित्र पत्रकारिता नेपाली सिने उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण माध्यम भएको टिप्पणी गरे।
बन्द सत्रमार्फत सम्पन्न अधिवेशनले अध्यक्षमा सूर्यनारायण विक, उपाध्यक्षमा आनन्द पटेल र सचिवमा रञ्जित यादव चयन गरेको छ। नव-निर्वाचित नेतृत्वले पत्रकारहरूको क्षमता विकास, सञ्जाल विस्तार तथा पेसागत हक–हित सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
अधिवेशनमा पत्रकार, सञ्चारकर्मी, विद्वान्, कलाकारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्वाचित अध्यक्ष विकले संघलाई थप सक्रिय, समावेशी र परिणाममुखी बनाउने अठोट व्यक्त गर्दै सबैप्रति आभार प्रकट गरे।