न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२५ अन्तर्गत ‘सञ्चार महिला उद्यमी इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड मधेश प्रदेशबाट वीरगंज, पर्साको कविता खड्कालाई प्रदान गरिएको छ । अवार्डसहित ५१ हजार रुपैयाँ नगद राशी प्रनि उनलाई प्रदान गरिएको हो ।
अवार्ड स्वरुप दिइने सम्पूर्ण रकम नेपाल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले व्यक्तिगत रुपमा दिएको जनाएकी हुन् । मधेश प्रदेशबाट मध्य नेपाल प्रेसको संचालक खड्कालाई यो वर्षको सञ्चार महिला उद्यमी इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर प्रदान गरिएको छ । एमबीएससम्मको अध्ययन पूरा गरेकी खड्काले २०७५ सालदेखि नै विभिन्न सरकारी कार्यालय, अस्पताल, विद्यालय, स्थानीय निकायमा चाहिने सम्पूर्ण कागजपत्रको छपाइसम्बन्धी काम गर्दै आएकी छन् । उनको सञ्चार उद्योगमा हाल १६ जना पुरुष र १९ जना महिला गरी ३५ जनाले काम गरिरहेका छन् । न्यू विजनेश एज लिमिटेडको आयोजनामा काठमाण्डौंमा भइरहेको कार्यक्रममा सातै प्रदेशको सात उद्यमीलाई प्रदान गरिएको छ । कोशी प्रदेशबाट इलामस्थित ग्रिनसिटी इलाम ललिपप उद्योगकी दीपा गुरुङलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

उनले २०७० सालदेखि नै ललिपप, पुष्टकारी र बम्बैसन लगायत खाद्यवस्तु उत्पादन गर्दै आएकी छन् । बागमती प्रदेशबाट नुवाकोटको विदुर नगरपालिकास्थित आमात्य स्टोर्सकी गीता अमात्यले उक्त अवार्ड प्राप्त गरेकी छन् । बिकमसम्मको अध्ययन गरेकी उनले २०६५ सालदेखि आमात्य स्टोर सञ्चालनमा ल्याई विभिन्न दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गर्दै आएकी छन् । गण्डकी प्रदेशबाट पोखरा महानगरपालिकाकी रक्षा चापाइँ स्टोरकी रजनी शर्मा चपाइँलाई दिएको छ । २०६९ सालदेखि ढाकाको तयारी पोशाक उत्पादन गर्दै आएकी उनलाई पनि सम्मान गरएको थियो । लुम्बिनी प्रदेशबाट घोराही उपमहानगरपालिका दाङबाट अल्लो धागो तयारी पोशाक उद्योगकी प्रेम कुमारी पुनले उक्त अवार्ड पाएकी छन् । उनले २०६९ सालदेखि अल्लोको प्रयोगबाट सल, कोट, झोला, जुत्ता, वालेट लगायत तयारी वस्तु उत्पादन गर्दै आएकी छन् ।
कर्णाली प्रदेशबाट वीरेन्द्रनगर सुर्खेतका कर्णाली एग्रो इन्डस्ट्रीकी कलसा देवी चौलागाईले सो अवार्ड प्राप्त गरेकी छन् । उनले २०७५ सालदेखि विभिन्न खाद्यवस्तुको कुटानी, पिसानी, प्याकेजिङ, प्रशोधन लगायत लेबलिङ गर्दै आएकी हुन् । सुदूरपश्चिम प्रदेशको पञ्चदेवल विनायक नगरपालिका अछामका रुइन चप्पल उद्योगकी इन्दिरा रेग्मीले प्राप्त गरेकी छन् । स्नातकसम्मको अध्ययन पूरा गरेकी उनले २०७७ सालदेखि चप्पल उत्पादन गरी बिक्री गर्दै आएकी छन् ।
