भारत–पाकिस्तानबीच बढ्दो सीमा तनावका बीच इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अस्थायी रूपमा एक हप्ताका लागि स्थगित गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता हाललाई स्थगित गरिएको पुष्टि गरेको हो।
बीसीसीआईका शीर्ष अधिकारीहरूको उच्चस्तरीय बैठकपछि यो निर्णय लिइएको हो। क्रिकबजका अनुसार आईपीएलका खेलहरू अर्को स्थानमा सार्ने वा अन्य वैकल्पिक विकल्पहरूबारे पनि छलफल भएपनि अन्ततः स्थगनको निर्णय लिइएको हो।
बीसीसीआईको विज्ञप्तिमा भनिएको छ, "नयाँ तालिका र स्थानबारे थप जानकारी सम्बन्धित पक्षहरूसँग परामर्श र समग्र मूल्यांकनपछि सार्वजनिक गरिनेछ।"
आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि निर्णय गरिएको जनाइएको छ। “खेलाडी, फ्रेन्चाइज, ब्रडकास्टर, प्रायोजक र दर्शकहरूका भावनालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो,” बीसीसीआईले भन्यो, “हाम्रा सुरक्षाकर्मीहरूमा पूर्ण विश्वास भए पनि सबै सरोकारवालाको हितलाई ध्यानमा राखी यो निर्णय गरियो।”
यो निर्णय मे ८ मा धर्मशालामा भएको दिल्ली क्यापिटल्स र पंजाब किङ्सबीचको खेल स्थगनको केही समयपछि आएको हो। विदेशी खेलाडीहरूको बढ्दो चासोलाई पनि ध्यानमा राखी खेलहरू स्थगित गरिएको बीसीसीआई स्रोतहरू बताउँछन्।
हाल सबै खेलाडी, टिम, ब्रडकास्ट स्टाफ र कर्मचारीहरूलाई धर्मशालाबाट नयाँ दिल्ली ल्याउन सुरक्षा सतर्कता अपनाइएको छ। उनीहरूलाई होटलबाट बसमा चढ्न भनिएको भए पनि कुन स्थानबाट रेल चढाइने भन्नेबारे जानकारी दिइएको छैन।
आईपीएल अध्यक्ष अरुण धूमलले यसअघि नै यो विषयमा सरकारसँग परामर्शपछि थप निर्णय लिइने बताएका थिए। “हामी परिस्थिति समीक्षामा छौं। यो क्रमिक रूपमा परिवर्तन भइरहेको छ। हालसम्म कुनै आधिकारिक निर्देशन आएको छैन,” उनले भने।
हालका लागि प्रतियोगिता एक हप्ताका लागि स्थगित गरिए पनि आगामी निर्णय भारत–पाकिस्तानबीचको अवस्थाको स्थायित्व र खेलाडीहरूको सुरक्षा चिन्ताका आधारमा गरिने संकेत बीसीसीआईले दिएको छ।