इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन सोमबार करिब ३:४० बजे अहमदाबादमा गम्भीर सवारी दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा उनी गम्भीर रूपमा घाइते भएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनी अस्पतालको बेडमा उपचाररत देखिन्छन्। भिडियो अनुसार उनको देब्रे खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ। अहिले उनको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। तथापि, पवनदीपको यस्तो अवस्था देखेपछि उनका प्रशंसकहरू चिन्तित भएका छन् र उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।
पवनदीप राजन को हुन्?
पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्ला निवासी हुन्। उनी संगीतको परम्परागत परिवेशमा हुर्केका हुन्। उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन सबै जना कुमाउँ क्षेत्रका चर्चित लोककलाकार हुन्।
पवनदीपले आफ्नो संगीत यात्रा सन् २०१५ मा द भ्वाइस अफ इन्डिया जित्दै सुरु गरेका थिए। तर उनको लोकप्रियता इण्डियन आइडल सिजन १२ जितेपछि चरममा पुगेको हो। सो प्रतियोगितामा उनले ट्रफीसहित २५ लाख रुपैयाँको नगद पुरस्कार र एक नयाँ कार जितेका थिए।
फाइनलमा उनले अरुनिता कञ्जीलाल, मोहम्मद दानिश, सायली काम्ब्ले, निहाल ताउरो र शनमुखा प्रिया जस्ता कडा प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरेका थिए।
पवनदीप विभिन्न संगीत शैलीमा सजिलै प्रस्तुत हुनसक्ने बहुप्रतिभाशाली गायक मानिन्छन्। उनले यतिबेला स्वतन्त्र संगीत सिर्जना, सहकार्य, र फिल्म संगीतको क्षेत्रमा समेत आफ्नो परिचय बनाएका छन्।
उनको संगीतप्रतिको समर्पण र साधनाले उनलाई भारतीय संगीत क्षेत्रमा एक छुट्टै पहिचान दिलाएको छ।
उनको स्वास्थ्य स्थिति र दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ।