आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले काठमाडौंका सुकुम्वासी बस्तीहरूमा खानेपानी रोकिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदमलाई मानवता विरोधी अपराधको संज्ञा दिएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साहले सरकारले सुकुम्वासी नागरिकहरूसँग कर लिने, मत लिने तर आधारभूत सुविधा जस्तो खानेपानी नदिने कार्य गरिरहेको आरोप लगाए।
उनले भने, “खानेपानी त दुश्मनलाई पनि रोकिँदैन, तर आफ्नै देशका नागरिकलाई खानेपानी रोकेको सुन्दा अत्यन्तै दुःख लाग्छ। खानेपानी त मौलिक हक हो, संवैधानिक अधिकार हो। के त्यो सुकुम्वासीलाई लागू हुँदैन?”
साहले सुकुम्वासी बस्तीमा बसोबास गरिरहेका नागरिकलाई नागरिक अधिकारबाट वञ्चित गरिनु अमानवीय भएको बताए। उनले सभामुखमार्फत सरकारलाई उक्त बस्तीहरूमा तत्काल खानेपानीको व्यवस्था गर्न निर्देशन दिन माग गरे।
“हामी उज्यालो नेपाल भनेर सुन्छौं, तर यही काठमाडौंको सुकुम्वासी बस्ती उज्यालोको अवसरबाट वञ्चित छ,” साहले भने, “बिजुलीबत्ती पुगेको छैन। यो भन्दा दुखदायी कुरा के हुन्छ?”
उनले थपे, “यदि साँचिकै तिनीहरूलाई सुविधा दिन सकिँदैन भने उनीहरूबाट कर किन लिनुहुन्छ? कर लिने तर सेवा सुविधा नदिने? यो अन्याय हो।”
त्यस्तै, उनले उडिसामा मृत्यु भएकी वीरगंज निवासी प्रिसा साहको घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरे। उनले सो घटनाबारे हालसम्म के भएको छ भन्ने विषयमा सदनलाई जानकारी गराउन आग्रह गरे।
सांसद साहको भनाइले काठमाडौंका सुकुम्वासी समुदायमा भोगिएका दैनिक जीवनका कठिनाइ र राज्यको बेवास्ता प्रति गम्भीर प्रश्न उठाएको छ।