आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सिमामा सुरक्षा गर्नुको सट्टा लुटपाट मच्चाएको आरोप लगाएका छन्।
रुपन्देहीको पिप्रा महजिदिया बजारमा आइतबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरीद्वारा सिमावर्ती क्षेत्रका नागरिकमाथि ज्यादती र सम्पत्ति लुटपाट भइरहेको दाबी गरे।
“सिमाको रक्षा गर्ने काम सशस्त्र प्रहरीले होइन, सिमावर्ती क्षेत्रकै नागरिकले ज्यानको बाजी राखेर गरिरहेका छन्,” अध्यक्ष साहले भने, “तर यिनै नागरिकलाई सरकारले मलखाद नदिएर भारतबाट ल्याएको मल खोस्ने र सशस्त्रले लुट्ने काम गरेको छ। यो निकै दुःखद हो।”
उनले कमिशनको लोभमा मल खोसिने कार्यलाई सरकारको अपराधको रूपमा टिप्पणी गरे। “किसानलाई अत्यावश्यक मलखाद उपलब्ध नगराई, दुई बोरा मल ल्याउँदा खोस्ने काम गर्नु सरकारको चरम विफलता र अपराध हो,” उनले थपे।
अध्यक्ष साहले सिमामा भन्सार छलीको नाममा लुटपाट भइरहेको भन्दै तत्काल रोक नभए कडा आन्दोलनको चेतावनी दिए।
“कमिशनको नाममा अहिले सरकारी लुट चलिरहेको छ,” उनले भने, “सशस्त्र प्रहरीले कुनै सामग्री नियन्त्रणमा लिँदा पुरस्कार पाउने कुरा त उनीहरूकै हुनुपर्ने हो, तर मन्त्रीदेखि आईजिपीसम्म अदृश्य कमिशन खाँदै छन्।”
कार्यक्रम आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आजपाका नेताहरू त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, र विधा शर्मा लगायतको उपस्थिति रहेको थियो।