शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारले आगामी वर्षलाई समावेशी आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र खेलकुदको पूर्वाधारमा सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिए।
युवा उद्यमशीलता र स्टार्टअपमा जोड
नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार, आन्तरिक रोजगारी सृजनाका लागि उद्यमशीलता प्रवर्द्धन गरिनेछ। व्यवसायिक योजना (बिजनेस प्लान) र उद्यमशीलताको इकोसिस्टमलाई एकीकृत गर्दै जेन-जी पुस्तालाई लक्षित गरेर स्टार्टअप कार्यक्रम लागू गरिनेछ। यसले युवाहरूमा नवप्रवर्तन र आत्मनिर्भरता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमामा सबै सहायता कार्यक्रम समेटिने
स्वास्थ्य क्षेत्रका सबै सहायता तथा सहुलियत कार्यक्रमहरूलाई अब स्वास्थ्य बीमा प्रणालीमा समावेश गरिने योजना सार्वजनिक गरिएको छ। यसले समावेशी स्वास्थ्य पहुँच सुनिश्चित गर्ने सरकारको लक्ष्यलाई बल पुर्याउनेछ।
खेलकुद पूर्वाधार र प्रोत्साहनमा सरकारको ध्यान
त्रिभुवन विश्वविद्यालयमा अवस्थित क्रिकेट मैदानलाई आधुनिकस्तरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रूपान्तरण गरिने भएको छ। साथै, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूको सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ।
सरकारले रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय) र निजी क्षेत्रको सहकार्यलाई कानुनी रूपमा सुनिश्चित गर्ने बताएको छ। साथै, खेलकुदलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसँग पनि जोड्ने योजना सार्वजनिक गरिएको छ।
शिक्षामा गुणस्तर र व्यावसायिकता
नीति तथा कार्यक्रममा विद्यालय शिक्षालाई प्राविधिक तथा व्यवसायिक शिक्षातर्फ रूपान्तरण गर्ने उल्लेख गरिएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विशेष कार्यक्रमहरू अघि बढाइने सरकारको योजना छ।