मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावको मतपरिणाम आउने क्रम जारी छ। अहिलेसम्म १५५ प्रतिनिधि सभा क्षेत्रको परिणाम आइसकेको छ। दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू भएको छैन भने ६ क्षेत्रमा मतगणना जारी छ। पाँचथरमा समानुपातिक मत राखेको पेटिकामा प्रत्यक्षतर्फको मतपत्र भेटिएपछि त्यो पनि गणना गर्ने सहमति भएकोले आयोगले अन्तिम परिणाम आउन बाँकी रहेको बताएको छ ।
मतपरिणाम आएका १५५ क्षेत्रमध्ये केही क्षेत्रमा झिनो मतान्तरले उम्मेदवारको जित र हार भएको छ। ८ क्षेत्रमा झिनो मतान्तरले जित(हार भएका छन् ।
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई हराए। डम्बरले २९ हजार ९ सय ६ मत ल्याए भने सुवासले ३० हजार २० मत ल्याए। सुवासले ११४ मतान्तरले चुनाव जिते।
ताप्लेजुङमा एउटा मात्र प्रतिनिधि सभा क्षेत्र छ । यहाँ नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई निर्वाचित भए । योगेशले २१ हजार ९ सय ४३ मत ल्याए भने माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७ सय ३५ मत मात्रै ल्याए। योगेशले २०८ मतान्तरले चुनाव जिते ।
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले चुनाव जिते। उनले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराए । प्रकाशमानले ७ हजार एक सय ४३ मत ल्याए भने रवीन्द्रले ७ हजार १८ मत ल्याए। १२५ मतान्तरले प्रकाशमानले चुनाव जिते ।
धनुषा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले जिते। उनले एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई हराए । रामकृष्णले २० हजार एक सय १२ मत ल्याए भने अरगरियाले १९ हजार ९ सय ५५ मतमात्रै ल्याए। रामकृष्णले १५७ मतान्तरले चुनाव जिते ।
पर्सा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताले जिते। उनले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलाई हराए। राजकुमारले २४ हजार ३ सय १९ मत ल्याउँदा सुरेन्द्रप्रसादले २४ हजार एक सय ५२ मत ल्याए । १६७ मतान्तरले राजकुमारले चुनाव जिते ।
दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेल पराजित भए । यहाँ माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भइन्। शंकरले २६ हजार ६ सय ८७ मत ल्याउँदा रेखाले २६ हजार ८ सय ८० मत ल्याएकी छन् । रेखाले १९३ मतान्तरले चुनाव जितिन् ।
बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले जिते । उनले २६ हजार ५ सय २० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार ३ सय ८४ मत ल्याए। १३६ मतान्तरले लालवीरले चुनाव जिते ।
दैलेख क्षेत्र नम्बर २ मा कांग्रेसका दिक्पालकुमार शाह निर्वाचित भए । उनले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराए । शाहले २० हजार एक सय ५८ मत ल्याउँदा पोखरेलले २० हजार पाँच म ल्याए। यहाँ शाह १५३ मतान्तरले चुनाव जिते ।