नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मतपरिणाम आइरहेका बेलामा त्यसबारे प्रतिक्रिया दिएका छन् ।
उनले चुनावी परिणामबारे पछि विश्लेषण गर्ने बताए । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले चुनावमा जितेका उम्मेदवारहरूलाई बधाई र पराजित भएकालाई सहानुभूति रहेको बताए ।
‘परिणामका बारेमा पछि विश्लेषण गरौंला । विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ । तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु,’ ओलीले भने ।
चुनावमा सत्ताको दुरूपयोग गरिएको ओलीको आरोप थियो। ‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए । आतंक फिजाउने प्रवृत्ति देखिए । हेलिकप्टरबाट गुन्डा ओसारेर प्रवृत्ति चिन्ताको विषय हो,’ उनले भने, ‘सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ ।’
रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबारे पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले यो मामुली कुरा भएको प्रतिक्रिया दिए । ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो । धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन ।’
ओली झापा ५ बाट निर्वाचित भएका हुन् । उनी विजयी सभालगायतमा सहभागी हुन आज झापा पुगेका छन् ।