अभिनेत्री रेखा थापा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धी बनेसँगै नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारलाई चुनौती थपिएको छ।
यो क्षेत्रमा एमालेबाट पूर्व मन्त्री भानुभक्त ढकाल र कांग्रेसबाट सुनील शर्मा उम्मेदवार छन्। एमालेको गढ मानिने योे क्षेत्रमा राप्रपा उम्मेदवार थापाले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र)को मत तान्ने निश्चित छ। पुराना नेताले आश्वासन मात्रै बाँडेको र आफू स्थानीय बासिन्दाका माग पूरा गर्ने उद्देश्यले राजनीतिमा आएको भन्दै नेत्री थापाले मत मागिरहेकी छन्।
अजेन्डा विना नै निर्वाचनमा आएको बताउने नेत्री थापा आफ्नो कुराभन्दा पनि जनताका समस्या उठाउने तर्क गर्छिन्। “म यो र ऊ पूरा गर्छु भन्दिनँ, मेरा अजेन्डा पनि छैनन्, तर नेताले बाँडेका झूटा आश्वासनबाट दिक्क भएका जनताका समस्या सम्बन्धित ठाउँमा पुर्याउन सक्छु,” उनी भन्छिन्। अहिलेसम्म यो क्षेत्रका जनताले एमाले, कांग्रेस र माओवादीलाई जिताएको उल्लेख गर्दै यस पटक आफूलाई मत दिन उनले आग्रह गर्दै आएकी छन्।
नेत्री थापा गरीब बस्तीमा पुगिरहेकी छन् । उनको आग्रहसँग मतदाता पनि सहमत देखिन्छन् । बेलबारी-८ का ६८ वर्षीय सुबिदार राजवंशीले आफ्नो टोलका ९० परिवारमध्ये अधिकांशले थापालाई मत दिने बताए। “धेरै पार्टीका नेतालाई भोट दियौं, तर हाम्रो घर जाने बाटो बनाएनन्। त्यसैले यस पटक रेखालाई भोट दिन्छौं,” उनले भने ।
अन्य दलका नेताले जस्तो नेत्री थापा पार्टी प्रवेश गराइरहेकी छैनन् । बरु अन्य दलका कार्यकर्तालाई आफ्नै पार्टीमा बसेर सहयोग गर्न आग्रह गरिरहेकी छन् । “म पार्टी छाडेर राप्रपामा आउनुस् भन्दिनँ । तपाईंहरू जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमा रहेर नयाँ उम्मेदवारलाई भोट हाल्नुहोस्,” थापाले कानेपोखरी-४ को माझीटोलमा मतदातालाई सम्बोधन गर्दै भनिन् ।
यो क्षेत्रमा एमाले र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै आएको थियो । यस पटक पनि एमालेका ढकाल र कांग्रेसका शर्माबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । तर, नेत्री थापा उम्मेदवार बनेपछि भने माहोल फेरिएको छ ।
ठूला राजनीतिक दलका स्थानीय नेता भने नेत्री थापाको उम्मेदवारीले त्यति धेरै फरक नपार्ने तर्क गर्छन् । स्थापित नेताबीच थापाको प्रवेशलाई कांग्रेस उम्मेदवार शर्मा सामान्य रूपमा लिन्छन् । “रेखाजीसँग सेल्फी खिच्न जानेहरू मात्रै हुन्, भोट दिने कम छन्,” शर्मा भन्छन्, “मेरो प्रतिस्पर्धा ढकालजीसँगै हुन्छ ।”
मतदाता राजनीतिक रूपमा सचेत रहेको उनको भनाइ छ । यो क्षेत्रमा राप्रपाको अवस्था कमजोर रहेको उनको जिकिर छ । गत निर्वाचनमा जितेका ढकाल गाउँमा नभिजेको र आफू स्थानीय भएकाले सहजै जित्ने शर्माको दाबी छ
केही विद्रोही र नवप्रवेशीका कारण आगामी निर्वाचनमा कांग्रेसलाई असर नपर्ने उनको तर्क छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात भए पनि अहिले त्यस्तो नहुने उनको विश्वास छ । “कांग्रेसभित्र कुनै समस्या छैन,” शर्मा भन्छन् ।
एमाले उम्मेदवार ढकाल पनि थापाको पक्षमा रामरमाइलोका लागि मात्रै मतदाता गएको तर्क गर्छन् । राजनीतिक र गैरराजनीतिक व्यक्ति र विषयलाई मतदाताले छुट्याउने उनको भनाइ छ । समाजमा देखिने छवि र पार्टीभित्रको वर्चस्व तथा बोली बिक्ने व्यक्तिले मत पाउने बताउँदै यस पटक पनि जित्ने ढकालको दाबी छ ।
सरकारमा रहेर देशका सबै जिल्ला हेर्नुपर्ने भएकाले आफ्नो क्षेत्रमा पूरा समय दिन नपाएको उनले स्वीकारे। तथापि, यो क्षेत्रको विकासका लागि आफूले निकै मिहिनेत गरेको उनको भनाइ छ। “कांग्रेसभित्रको विवाद र एमाले बलियो हुँदै गएकाले यस पटकको निर्वाचन पनि सहजै जित्छु,” ढकालले भने।
मोरङ(३ मा २०७४ सालको निर्वाचनमा ढकालले ४२ हजार ४१३ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शर्माले ४० हजार ५०६ मत पाएका थिए। स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ३७ हजार ४१० मत छ भने कांग्रेसको ३६ हजार ९१६ मत छ।
त्यस्तै, माओवादीको सात हजार ३७४, राप्रपाको दुई हजार १२१, नेकपा ९एकीकृत समाजवादी०को एक हजार ८५५ र जनता समाजवादी पार्टी ९जसपा०को ४६३ मत छ। माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेका छन् भने जनता समाजवादीले माओवादीलाई समर्थन गरेको छ।