नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिन आज पोखरामा थप विभिन्न १२ खेलका प्रतिस्पर्धा हुँदैछन् ।
असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु हुने खेलतालिका छ । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।
पोखरा रंगशालामा एथलेटिक्स, ब्याडमिन्टन कोर्टमा ब्याडमिन्टन, स्क्वास, उसु, आर्चरी मैदानमा आर्चरी, सफ्टटेनिस रंगशालाको टेनिसकोर्ट र पोखरा सभागृहमा शारीरिक सुगठनको खेल सुरु भएको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए।
यसैगरी पोखराको फिस्टेल एकेडेमीमा पौडी, कोल्माबहाकोट समाजघरमा टेबलटेनिस, पोखरा उद्योग वाणिज्य संघको हलमा भारत्तोलन, प्याराग्लाइडिङ पोखराको सराङकोट र महिला पुरुष रग्वी लेखनाथमा सञ्चालन भइरहेका छन्।
राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये पुरुष क्रिकेट, क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की, गल्फ, टेनिसलगायत खेल यसअघि नै सुरु भएका छन् ।
फेन्सिङ खेलको सबै विधाका प्रतिस्पर्धा सकिएर नेपाली सेनाको टोली पाँच स्वर्ण पदकसहित च्याम्पियन बनेको छ ।
हालसम्मको पदक तालिकामा विभागी नेपाली सेनाले अग्रता बनाएको छ । सेना पाँच स्वर्ण, छ रजत र सात कास्य पदकसहित शीर्षस्थानमा रहँदा बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कास्य गरी आठ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको एपिएफले दुई स्वर्ण चार रजत र सात कास्य जितेको छ ।