वीरगंज । पछिल्लो समयमा पर्साका सामुदायिक विद्यालयहरुमा पढ्ने छात्राको संख्या छात्रकोभन्दा बढि हुन थालेको छ । राज्यले लिएको नीति र सामाजिक चेतनास्तरको वृद्धिका कारण पर्साका सामुदायिक विद्यालयहरुमा छात्रभन्दा छात्राको संख्या बढ्न थालेको हो ।
विशेष गरी सामुदायिक विद्यालयका छात्राहरुलाई राज्य तथा स्थानीय तहले लक्षित गरी छात्रवृति लगायत विभिन्न सुविधा दिन थालेको छ । यसले पनि विस्तारै छोरीलाई पनि विद्यालय पठाउनु पर्ने चेतनाको विकासले छात्राको संख्या बढ्न थालेको स्थानीयले बताए ।
पहिले छोरालाई महँगो र राम्रो र नीजि विद्यालयमा र सस्तो शिक्षाका लागि छोरीलाई सरकारी विद्यालयमा पठाउने शैली रहे पनि विस्तारै परिवर्तन हुन थालेको स्थानीयले नै बताउन थालेका छन् । छोरीले पनि पढेर केही गर्न सक्छिन् भन्ने मान्यताले मधेशका अभिभावकहरु पनि समयानुकुल परिवर्तन हुन थालेको उनीहरुको तर्क छ ।
आम समाजको सामाजिक चेतनास्तर पनि वृद्धि हुदै गएको कारण छात्राको संख्या बढिरहेको छ । तर छात्राहरुको संख्या वृद्धि भएको तथ्यांक बाहिर आइरहदा १६ ̷ १७ वर्ष पुगेपछि नै ग्रामीण क्षेत्रका अधिकांश किशोरहरु रोजगारीका लागि विद्यालय छाड्ने गरेको कारण पनि किशोरीहरुको संख्या बढि हुन आएको ग्रामिण क्षेत्रका अगुवाहरु नेता कार्यकर्ताको तर्क छ ।
यसरी बिच्चैमा विद्यालय छोड्ने यो चिन्ताको विषय भएको पनि सामाजिक अगुवाहरुको दावी छ । पहिलेकोभन्दा अभिभावकहरुमा धेरै जागरण र समझदारी आएकोले छोरीलाई पनि विद्यालय पठाउन र शिक्षाको पहुँच पु¥याउन सकारात्मक कदम भएको विद्यालयमा अध्ययनरत छात्राहरुले पनि बताए । पर्साको ग्रामीण भेगका विद्यालयहरुमा अध्ययनरत छात्राहरु अहिले भने निकै प्रफूल्ल भएर शिक्षा आर्जनमा लागेको पनि बताउँछन् ।
तराई मधेशमा खासगरी ग्रामिण भेगमा छोरीचेलीलाई घरको कामकाज र छोरालाई शिक्षामा अब्बल बनाउनु पर्छ भन्ने धारणा अभिभावकहरुमा हुने गर्दथ्यो । तर हाल पर्साका अधिकांश सामुदायिक विद्यालयमा छात्रभन्दा छात्राको संख्या नै बढि देखिन थालेको छात्रा मुस्कान पण्डितले पनि बताइन् ।
विगत २६ बर्षदेखि पर्सा जिल्लामा किशोरी शिक्षा संचालन गर्दा छोरीलाई पनि विद्यालय पढन पठाउनु पर्छ भन्ने जागरण बढेको छ । पहिले भने छात्राको संख्या निकै न्यून थियो । अभिभावकलाई समेत शिक्षाको बारेमा विभिन्न तालिम र जनचेतना जगाई विद्यालय भर्ना गराएको हाल पर्सा जिल्लामा छात्राको संख्यामा बृद्धि भएको सामाजिक संस्था जिल्लासमन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवानले बताए ।
हाल मधेश प्रदेशकै आठ वटै जिल्लामा किशोरी शिक्षा संचालनमा रहेको र यस्ता कार्याक्रमलाई निरन्तरता दिए पर्सामा मात्र नभई सबै जिल्लामा छात्राको संख्यामा बढि हुने उनले तर्क गरे । पकाहामैनपुर गाँउपालिकामा रहेको रामचरित्र भगत मा.वि विद्यालयका प्रधानाध्याक छोटेलाल प्रसादले पनि अभिभावकहरु अलि जागरुक र शिक्षाप्रतिको चेतनाले प्रभाव पारेको बताउँछन् ।
यो सकारात्मक परिवर्तन हो उनले भने । अर्को कारण भनेको छात्रहरु कम उमेरमै पढाइभन्दा रोजगारी तिर जाने गर्दा ग्रामिण विद्यालयहरुमा छोरी अर्थात छात्राकै संख्या बढि हुने गरेको पनि उनले तर्क गरे । उच्च शिक्षा हासिल गरेर पनि रोजगारी नपाई गाउँमा घुमिराखेको तर सानै उमेरमा शिप सिकी आर्थिक आम्दानी गर्न थालेका केही युवाहरुको सिको गर्दै कतिपयले बीचैमा विद्यालय छोड्ने गरेको पनि प्र.अ. छोटेलालले बताए । कतिपय युवाहरुलाई विद्यालय जानुभन्दा घरको आर्थिक स्थिति उकास्न दैनिक गुजारा टार्न बाध्यता पनि छ उनले भने ।
छात्राहरुको संख्यामा वृद्धि भइरहेको बेला आर्थिक अवस्था कमजोर हुने अधिकाशं अभिभावकले आफ्ना छोरालाई रोजगारीका बिचमै पढाई छोड्न लगाए र काममा पठाउने गरेको पनि पं्रअ छोटेलालले तर्क गरे । विभिन्न हिंसाबाट छोरीलाई बचाउन तथा अहिलेको आधुनिक युगमा छोरा सरह छोरीलाई पनि शिक्षित बनाउन अति आवश्यक रहेकोले छोराभन्दा छोरीलाई अझ शिक्षाको जरुरत पर्ने पर्साको छिपहरमाई गाँउपालिकाका एक अभिभावक रामनाथ सर्राफले बताए ।
विद्यालयमा छात्रहरुलाई पनि टिकाई राख्न विभिन्न योजनाका
साथ अगाडी बढेको पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्न प्रसाद चौहानले बताए । छात्रहरुलाई विद्यालयस्तरदेखि नै आर्थिक आम्दानी तर्फ उन्मुख गर्न विद्यालयमा प्राविधिक शिक्षा तर्फ जोड दिइएको पर्साको पटेर्वासुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतोले पनि बताइन् । शिक्षा विकास तथा समन्वय ईकाई पर्साको विद्यार्थी विवरण २०७९ अनुसार जिल्लाको सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कुल विद्यार्थी संख्या १ लाख २९ हजार ९ सय ७१ रहेकोमा जसमध्ये छात्राको संख्या ६७ हजार ९३ रहेको तथ्याँक छ । त्यसै गरी छात्रको संख्या ६२ हजार ८ सय ७८ मात्र रहेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।
पर्सामा हाल ३ सय ६० सामुदायिक विद्यालय रहेको भएता पनि आईईएमआईएस अद्यावधिक ३ सय ५४ विद्यालले मात्र गरेको शिक्षा विकास तथा समन्वय ईकाइ पर्साको प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी गराए । अधिकांश विद्यालयमा छात्रहरुभन्दा छात्राहरुकै संख्या बढी रहेको समन्वय ईकाइको तथ्याँक छ उनले भने ।