वीरगंज । आर्थिक नगरी वीरगन्जमा संचालिन व्यापारिक पसल वा होटल वा विभिन्न संघ संस्था फाइदा नभए पनि संचालन भइरहन्छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर वीरगंजको मुर्लीमा संचालित ‘भरपेट भोजनालय’ प्रत्येक महिना घाटामा चलिरहेको व्यवसाय हो । घाटा नाफाको जोडघटाउ भइरहने प्रतिस्पर्धी युगमा घाटाको व्यवसाय त्यो पनि आर्थिक नगरीमा भन्ने कुरा अपत्यारिलो नै हो । तर यहाँ एकबर्षदेखि संचालन भइरहेको छ ।
वर्तमान महँगीमा केवल ५० रुपैयाँमा स्वस्थकर भोजन उपलब्ध गराएर भरपेट भोजनालयले धेरैलाई गुण लगाइरहेको छ । २०७८ साउन अन्तिम सातादेखि सञ्चालनमा आएको यो भोजनालयले हालसम्म ७५ हजार बढी भोकाहरुको पेट भरेको तथ्याँक छ । कोरोना भाइरसको कहरले निम्न वर्गीय तथा छरिएर रहेका श्रमिकहरु, रिक्सा, ठेला चालक, गरिब तथा विपन्न समुदायमा बसोबास गर्नेहरुलाई लक्षित गरी बिहान बेलुकाको हातमुख जोडने समस्या किनारा लगाउन भरपेट भोजनालयको परिकल्पना गरिएको थियो ।
वीरगंज आएदेखि यहीं खाना खाने गरेको रौतहट फरहदवाका मन्जुर आलमले बताए । समय समयमा ठेला र रिक्सा समेत चलाउँदै आएका आलम अन्य होटलको तुलनामा यो भोजनालयमा खाना खाँदा महिनाको ३ हजारसम्म बचत हुने तर्क गर्छन् । पैसाको चिन्ता नगरी खाने गर्छौ खाना पनि मिठो र ताजा भएकाले यही राम्रो लाग्ने गरेको उनको तर्क छ ।
स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुगोस् भन्ने हेतुले सुरु भएको भरपेट भोजनालयको सेवा आम पर्सावासी सहित यहाँ काम गर्ने तथा घुमघामका शिलशिलामा वीरगन्ज आउनेले जो कोहीले लिन सक्ने सानो पाईला नामक गैर सरकारी संस्थाका कार्यक्रम प्रबन्धक रौनक राजले बताए ।
समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने श्रमिक, गरिब तथा विपन्न वर्गको भोजनमा न्यून खर्चले धानोस् र सानो आम्दानी हुनेको पनि केही बचत भई उनीहरुको बालबच्चाको शिक्षा र स्वास्थ्यमा त्यो पैसा खर्च होस् भन्ने भोजनालय संचालनको उद्देश्य रहेको उनको तर्क छ ।
समुदायको सहयोगमा सामुदायिक सशक्तिकरणका लागि कोरोना संक्रमणकालमा सानो पाईलाकै अगुवाईमा यो भरपेट भोजनालय संचालन गरिएको सानो पाईला संस्थाका संस्थापक अध्यक्ष कञ्चन झाले बताए । कोरोना महामारीका समयमा सरकारले विपन्नको बारेमा योजना बनाउन आनाकानी गरिरहेको बखत भोका र गरिबहरुको सहाराका लागी सानो पाईला नामक गैर सरकारी संस्थाले संचालन गरेको फिडिङ्ग नेपाल अभियानको दुई छाक निःशुल्क भोजन अभियान अन्ततः भरपेट भोजनालयका रुपमा विकसित भएको उनको तर्क छ ।
त्यो समयमा फिडिङ्ग नेपाल अभियानले वीरगंज महानगर भित्रबाट सुरु गरेको अभियान मधेश प्रदेशको राजधानी जनकपुर, सिरहा, रौतहट हुँदै मधेश प्रदेशका ८ जिल्लासंगै कर्णालीसम्म पुगेको संस्थाका संस्थापक अध्यक्ष झाले तर्क गरे । यस्तो भोजनालय जुन वडामा आर्थिक सुचकाँक कम छ, त्यहाँ सञ्चालन गर्ने उद्देश्य रहेको सानो पाइलाका प्रमुख जय साहले पनि बताए । हामीले सुरुवात मात्रै गरेका छौुं यसलाई स्थानीय सरकारले रोल मोड्लको रुपमा विकास गर्न सक्छन् उनले भने ।
सरकारको पहुँचबाट टाढा रहेको कर्णाली प्रदेशमा समेत निःशुल्क भोजन सुरुवात गर्ने लक्ष्य छ उनले बताए । केही दिन अगाडी स्वर्गवास भएका नेपाली काँग्रेसका बौद्धिक नेता प्रदिप गिरीको भनाइ सम्झदै नेपाली काँग्रेसका युवा नेता समेत रहेका झाले भने समाजको दियालो भनेको आफु सक्षम वा सरकारको हिमायती भएका बखत मात्र नभई नयाँ पुस्तालाई शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहयोग गर्नुपर्छ । जसले समाज बलियो बनाउँछ ।’ यो कुरालाई नै अंगिकार गरिएको हो उनले भने ।
विपद्को समय फेरि आए यो भोजनालयले पुनः निःशुल्क भोजन सेवा उपलब्ध गराउनका लागी समेत प्रतिबद्ध रहेको सानो पाईलाका संस्थापक झाले दावी गरे । हाल ७ जना कर्मचारी खटिरहेको सो भोजनालयमा प्रत्येक महिना डेढदेखि दुई लाखसम्मको घाटा हुने गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताए । सस्तोमा संचालन गर्ने भोजनालय संचालन गर्न दाताहरुको सहयोग विना अब चाही गाह्रो हुने उनीहरुको तर्क छ ।
सन् २००६ मा स्थापना भएको सानो पाईला गैर नाफामूलक सानो पाईला नामक संस्थाले नेपालमा गरिबी न्युनिरकरणका साथै सामाजिक न्यायको अभिवृद्धिका लागि आर्थिक, सामाजिक र मानव स्वास्थ्य सुधार गर्ने उद्देश्य राखेको थियो ।
निमुखा समुदायको जीवनस्तर सुधार्ने युवा सशक्तिकरण, दुव्र्यसनीहरुको पुनस्र्थापनादेखि अपराध नियन्त्रण र सुधार, मानव तस्करी नियन्त्रण तथा बाल संरक्षण, खाद्य सुरक्षा, जनस्वास्थ्य सुधार, शिक्षामा पहुँच, शान्ति निर्माण, जीविका सुदृढीकरण र शंकट व्यवस्थापनमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकास साझेदार, गैर सरकारी संस्था र सरकारी निकायहरुको वृहद् सन्जालसँग मिलेर आफ्ना कार्यक्रम तथा संचालन गर्दै आएको छ ।