वीरगञ्जकै पुरानो साहित्यिक संस्था ‘नारायणी वाङ्गमय प्रतिष्ठान’को नयाँ कार्य समिति गठन गरिएको छ । साहित्य लेखनमा कलम चलाउँदै आएका व्यक्तिहरुको शनिबार भएको भेलाले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेको हो ।
वीरगञ्ज–१५ स्थित सिदार्थ कलेजमा भएको प्रतिष्ठानको साधरणसभाले प्राध्यापक डाक्टर विश्वम्भर शर्मा अध्यक्ष रहनेगरि नयाँ कार्यसमिति चयन गरेको छ । डाक्टर शर्मा पछिल्लो कार्यसमितिमा महासचिव थिए ।
कार्यसमितिको उपाध्यक्षमा पत्रकार एवं साहित्यकार चन्द्रकिशोर सचिवमा महेशचन्द्र गौतम, कोषाध्यक्षमा कविता खड्का चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा गीता भण्डारी, सुरेश बिडारी, अजमत अलि, सुर्य नारायण वि.क., देवी सापकोटा, नवराज रिजाल र सञ्जय साह मित्र चयन भएका छन् ।
नेपालको कला, भाषा, साहित्यको उन्नयनका लागि विविध गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरिएको अध्यक्ष डाक्टर शर्माले जानकारी दिए । भेलाले नारायणी वाङ्गमय प्रतिष्ठानको विधान संसोधन गर्ने, संस्था नविकरण गर्ने लगायतका निर्णय समेत गरेको छ । पञ्चायतकालमै गठन भएको प्रतिष्ठान वीरगञ्जमा साहित्यिक गतिविधि गर्ने प्रतिष्ठित संस्थाको रुपमा परिचित थियो ।
वि.स. २०४५ सालमा डाक्टर दुर्गा प्रसाद रिजाल अध्यक्ष रहेको कार्यसमितिले प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका थिए । प्रशासनको संघ संस्था दर्ता किताबमा १६ औं नम्बरमा प्रतिष्ठान दर्ता छ । कार्य समितिका पदाधिकारी मध्ये केहिको मृत्यु भएकबो र अन्य सदस्यहरु पनि छरिएर रहेका कारण पछिल्ला दिनमा प्रतिष्ठान निष्क्रिय बनेको थियो । पत्रकार जगदिश शर्माको अगुवाईमा सािहत्य क्षेत्रमा बेग्लै ईतिहास बनाउन सफल साहित्यिक संस्थालाई पूर्नजीवन प्रदान गरिएको छ ।