नीतिगत रुपमा प्रायः सबै स्थानीय तहमा फूलबुट्टा भरिए झंै राम्रा नीति तथा कार्यक्रम आएका छन् । नीतिगत रुपमा मात्र हेर्ने हो भने मुलुकका सबै स्थानीय तह समृद्धिको पाइलामा अगाडी बढेका छन् । संविधानतः शुक्रबारसम्म ल्याइएका नीति तथा कार्यक्रममा प्रायः सबै पालिका सुन्दर र मनमोहक पनि देखिएका छन् ।
कार्यक्रममा कतै पक्कै–पक्का सडक, कतै फोहोर रहित सुन्दर शहर, कतै हरियाली शहरबजार, गाउँका बस्तीहरुमा पनि ढकमक्क बालीनाली, अनि कतै खाली जग्गा रहित ठाउँ, कतै शिक्षा– दिक्षाका समृद्ध भवन, कतै प्राविधिक शिक्षाको भरपुर प्रगति, कतै स्वास्थ्य संस्था, कतै ती स्वास्थ्य संस्थामा स्तरीय सेवा, कतै खानेपानीका प्रचुर सम्भावनालाई साकार रुप, अनि समग्रमा विकासको मूल फूटाएर चौतर्फी विकासै–विकास गज्जब नै देखिन्छ नीति तथा कार्यक्रममा । राम्रो नीति तथा कार्यक्रम आउनु पनि नराम्रो चाही होइन ।
राम्रोका लागि पहिले सपना देख्नु सकारात्मक नै हो । अझ राम्रो भने ती सबै कुरा कार्यान्वयन हुन थालेपछि झन राम्रो । जुन नीति तथा कार्यक्रमहरु ल्याइएका छन् । अब ती लक्षित ठाउँमा कार्यान्वयन हुनु पर्ने दिनगन्ती पनि जनप्रतिनीधिका सुरु भएका छन् यसलाई पनि राम्रो भन्नु पर्छ । निर्वाचन ताका के–के न गर्छौं भन्नेका पनि दिनगन्ती सुरु हुनु नराम्रो भन्नै हुदैन ।
मुलुकको दोस्रो स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनीधिको भावी भविष्यको सकारात्मक पक्षको विजारोपण हुने पहिलो बर्षको नीति कार्यक्रम । उनीहरुको श्रीवृद्धिको सुरुवाती बजेटको नीति कार्यक्रम पनि हो । राम्रो र कार्यान्वयनमा अझ राम्रोको थालनी गर्नु पर्ने सुरुवाती बर्ष पनि हो उनीहरुको लागि । अहिलेसम्म राम्रो र चर्चाको मात्र कुरामा रहेका उनीहरुको समयको समिक्षाको सुरुवात पनि नीति तथा कार्यक्रमबाट नै सुरु भएको छ । अर्को भनेको जनप्रतिनीधिले चुनौति पार गरेर सफलताका शिखर चुम्न हिड्ने प्रारम्भिक कार्यको थालनी पनि सुरु मान्नु पर्छ । सफलताका लागि विभिन्न चुनौति पार गर्न पर्छ भन्ने कुराको पनि मुलुकभरका जनप्रतिनीधिको चुनौतिको चाङ्गको प्रस्थान विन्दु । यहाँसम्म उनीहरुको राम्रो दिनको मात्र चर्चा । अबको चर्चा समिक्षात्मक पनि आउने पक्का छ ।
हिजोसम्म अरुले गरेनन् भनी दोष लगाएर हिड्दा हुनेहरुले अब जनताका लागि काम गर्न पर्ने भएको छ । अबको समय भनेको उनीहरुको अग्नी परिक्षाको समय पनि हो । भर्खरै निर्वाचित जनप्रतिनीधिहरुले अहिले ल्याइएका नीति तथा कार्यक्रममा खरो उत्रिन सके मात्र व्यवहारतः नीति तथा कार्यक्रममा राम्रो र नराम्रो भन्न सकिन्छ । नत्र त नीति तथा कार्यक्रम किताबमा राम्रो भएर मात्र हुँदैन । लेख्न त हिजोका जनप्रतिनीधिले पनि नराम्रो लेखेको होइन । त्यसैले अहिलेका जनप्रतिनीधिहरुलाई राम्रो नीति तथा कार्यक्रम ल्यायौं मात्र भनेर छुट हुने छैन । किन भने हिजोका जनप्रतिनीधिले जस्तो आफै चल्ने नीति र ऐन कानूनको अभवा अहिलेका जनप्रतिनीधिले झेल्न पर्दैन । त्यसैले पहिलेका जनप्रतिनीधिले केही गरेनन् भनी आरोप लगाएर पन्छिने छुट अबका जनप्रतिनीधिलाई छैन ।
पहिलेकाले जतिसुकै गरेनन् भने पनि उनीहरुले नै कोरिदिएको बाटोलाई अलि फराक र राम्रो पारेर हिड्ने अभिभारा भने अहिलेका जनप्रतिनीधिको काँधमा आएको हो । समयको पाउबन्दीले पनि हिजोका जनप्रतिनीधि जस्तो नठगिने र कोरोना विश्व महामारीले पनि प्रभाव नपार्ने अहिलेका जनप्रतिनीधि भाग्यमानी त यो मानेमा छन् । त्योभन्दा भाग्यमानी उनीहरुले अहिलेदेखि ल्याउन थालेका नीति तथा कार्यक्रम कार्यान्वयन हुन सके अझ हुनेछन् ।