देशलाई ‘शिर’ ठानेर गौरव गर्ने नीति र थीति अगाडी बढेको हेर्न चाहन्छन् हरेक देशका सामान्य नागरिक । सामान्यभन्दा सामान्य अर्थमा हुने पनि यत्ति नै हो । सत्ययुगीन अवस्था झैं नभई पछिल्लो समयमा मानव संख्या, भूगोलको क्षेत्रफलभन्दा बढ्न थालेपछि मेरो र तेरोको रेखांकन पुथ्वीमा कोरिएको छ ।
यहि रेखांकनले देश र परदेश छुट्याइदिएपछि धर्ती त के चन्द्र र ग्रहमा समेत रेखांकन कोरिन थालेको सुन्न थालिएको छ । यहि रेखांकनले देश र परदेशका बीच निकटता र विकटता हुनु वर्तमानमा अस्वाभाविक पनि भएन । देश र परदेशका बीच सम्बन्धको निकट र कटुता जन्मिने मुख्य कारण पनि कलियुगीन स्वार्थी मनुवाहरुकै घनचक्कर हो । अरुलाई कज्याएर आफू शक्तिशाली बन्ने दौडमा रहेका फरक राष्ट्रहरुका बीचको जालझेल पनि यसैको उपज हो ।
नेपालको सन्दर्भमा धेरै पटक शक्तिशाली ठान्ने छिमेकीहरुले सीमानामा थिचोमिचो गरेको कुरा सार्वजनिक हुने क्रम त सुनिएकै थियो । तर भौगोलिक दूरीका हिसाबले परका राष्ट्रले पनि ठाउँ–ठाउँमा हस्तक्षेप गर्ने र आफ्नो स्वार्थ सिद्ध गर्न रच्ने प्रपञ्च प्रविधिमैत्री परिवेशमा अझ झाँगिन थालेको छ ।
सीमा जोडिएका शक्तिशालीले निर्धोलाई हेप्ने मनुवा प्रवृत्ति मात्र नभई धर्तीको निकै परको कुनामा भएको राष्ट्र र त्यहाँका मनुवाहरुको दम्भ पनि अब त निकै टाउको दुखाइ हुने गरेको छ । यसमा अरुलाई बुई बोकेर सहोदरहरुलाई तर्छाउन पल्केका भूईंफूट्टा मनुवाहरुको कारण नै धर्तीको टाढाको कुनामा बसेकोले पनि नेपाल जस्तो देश र यहाँका नागरिकलाई समय–समयमा गिजोल्न थालेका छन् ।
नेपालमा चर्चामा रहेका एमसीसी र उसैगरी अहिले स्टेट पार्टनरसीप प्रोग्राम ( एसपीपी ) ले नेपाली मन र मष्तिस्कलाई मात्र नभई मुलुकको रक्षाकवजका रुपमा रहेको सुरक्षा संगठन नेपाली सेनालाई समेत गिजोलिरहेको छ । भविष्यका लागि यो राम्रो संकेत होइन । यसमा जो कोहीका क्षणिक स्वार्थ वा अपरिपक्कताका कमजोरीले सृजित समस्या भए पनि यस्ता संवेदनशिल कुराबाट अब मुलुकलाई बचाउन युवा जगत र आम नागरिकले सचेत बन्नै पर्ने भएको छ ।
मुलुकलाई हानी हुने कुरामा राजनीतिक वृत्तबाट होस् या सुरक्षा, व्यूरोक्र्याट्स जुनसुकै क्षेत्रबाट गरिएका हर्कतहरुलाई जरैबाट उखेलेर फाल्न जरुरी भइसकेको छ । यसमा अब पनि विलम्ब भए नीति र थीतिको दोहोलो काढी आफ्नो पन्तुरो कसिलो बनाउन पल्केका विदेशीको चरणमा त्यं शरणम्धारीहरुलाई नै ठीक पार्न राष्ट्रप्रेमि नेपालीले अब जाग्नै पर्ने भएको छ । नत्र नेपालीले नै बुझाएको करबाट घर चलाउनेहरु संसारको उच्च शिखरको काखमा अवस्थित नेपाल भित्रका नेपालीलाई विदेशीको हातमा पूर्णरुपले सुम्पिन बढि समय लाग्दैन ।
ुरोग लाग्नु पूर्व रोगको बाटो छेक्नु जातीु भने जस्तो मुलुक बचाउन अब सचेत नेपाली तन्नेरी जाग्नै पर्ने भएको छ । यताका दलालहरुले जति लाइन दिएका थिए एमसीसीको कुरा पनि पहिले सदनबाट पास गराउन सम्बन्धित राष्ट्र जसरी दवावमा बिस्तारै उत्रियो त्यस्तै बखेडा पुनः झाँगिएर नीतिगत रुपमा नै नेपाललाई धर्तीको पल्लो छेउबाट तानाबाना बुनिदै छ ।
यस कुराको उचित अनुसन्धान र छिनोफानो समयमा नै नभए विस्तारै देश मास्ने धमिराहरुले मुलुक खोक्रो पारिदिन्छन् । त्यसैले हिमालय शृंखलाको कम्बरमा स्वच्छन्द रहकी नेपाल आमालाई नीति निर्माण तहमा बस्नेहरुकै ईसारामा विदेशीले आफ्नो पोल्टामा पार्न बुनेको तानाबाना अझ झाँगिएर जना सक्छ ।