नेपालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन बल्ल सम्पन्न हुन थालेको छ । पहिलो पटकको स्थानीय तहको निर्वाचन दुई चरणमा भए पनि यो पटकको निर्वाचन मुलुकभर एकै चरणमा चाही भएको छ । एक अर्थमा अहिलेको यो निर्वाचन प्रकृया ठिक छ भन्न सकिन्छ ।
यसले आगामी अवधिका लागि नेपालभरका सबै स्थानीय तहका जनप्रतिनीधिको समयसीमा समान भएकोे छ । अघिल्लो निर्वाचनमा मधेश प्रदेश लगायत केही ठाउँका जाप्रतिनीधिले साढे चार बर्षमा नै आफ्नो कार्यकाल सकिएको अनुभूति गर्न प¥यो । यसले उनीहरुले अरु ६ महिना सत्ता भोग गर्न पाउने अधिकारमा ठेस लाग्यो । चरणबद्ध निर्वाचनको कारण सुरुको मितिलाई नै स्थानीय तहको निर्वाचनको मिति गणना गरिदा दोस्रो चरणका निर्वाचित जनप्रतिनीधिलाई केही अन्याय भएको हो । अब आउने स्थानीय तहको निर्वाचनमा त्यो समस्या चाही नरहने भएको छ ।
तर प्रजातन्त्रमा आम नागरिकले हरेक पार्टीको नीति सिद्धान्तलाई छनौट गर्न पाउने अधिकार भने गठबन्धनका नाममा कुण्ठित गरिएको प्रष्ट छ । यसले प्रजातन्त्र माथि नै प्रश्न सोझ्याइ दिएको छ । स्थानीय तहमा पनि गठबन्धन गरी नेपालका ठूला पार्टीहरुको हुतिहारा चरित्र समेत छर्लङ्ग पारेको छ । यस्तो रवैयाले प्रश्रय पाउनु हुँदैन । स्थानीय तहमा हरेक पार्टी आ–आफ्नै बल र तागतमा अगाडी बढ्न आँट गर्नु पर्छ । केवल सत्ता प्राप्तिको लागि मात्र गठबन्धनका नाममा रापताप बढाइयो भने त्यसले मुलुकको लागि हित गर्दैन र दलगत प्रणालीलाई पनि हित गर्छ भन्ने हुँदैन । त्यसैले गम्भिर यस्ता कुरामा सजग रहेर दलहरुले निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्न पर्छ ।
अनि त्यसरी आएका जनप्रतिनीधि सबैले आफूलाई दलगत स्वार्थभन्दा माथि उठाएर आम नागरिकलाई सेवा प्रभाव गर्न सक्नु नै सच्चा कार्य सम्पादनको अभ्यास भएको मान्निछ । यो कार्यमा अहिले निर्वाचित जनप्रतनीधिहरुको परीक्षाको घडी अब सुरु भएको छ । बिहानीले दिनको संकेत गर्छ भने जस्तो अब नेपालका ३५ हजार बढी स्थानीय तहका जनप्रतिनीधिहरुको कामको मूल्याँकन पदभार सम्हालेको दिनदेखि नै सुरु भएको छ । निर्वाचित भएर जनताको नाममा सपथ खाएपछि त्यो समयदेखि निर्वाचित जनप्रतिनीधि आम जनताका जनप्रतिनीधि हुन्, न कि कुनै पार्टी बिशेषका नेता मात्र । यो कुराले गर्दा नै उनीहरुमाथि अग्नी परिक्षा सुरु हुन थालेको हो । यो अग्नी परिक्षामा आम स्थानीय तहका जनप्रतिनीधि खरो उत्रिन सकेमात्र आगामी निर्वाचनमा उनीहरु पुनः जनताको छनौटमा पर्न सक्छन् ।
भर्खरै सम्पन्न निर्वाचनमा अधिकाँश निवर्तमान जनप्रतिनीधि पराजित हुनुको मूल कारण पनि उनी विगतको कार्यसम्पादनमा जनताका नजरमा खरो उत्रन नसकेका हुन् । उनीहरु पराजित हुनु त्यसैको उपज पनि हो । भर्खर निर्वाचित जनप्रतिनीधिले यो कुरा बुझ्न जरुरी छ । यो कुरालाई नजरअन्दाज गरिए निवर्तमान जनप्रतिनीधिहरु जस्तै उनीहरुले पनि आगामी निर्वाचनमा अगाडी बढे धचक्क हुनु वाहेक अर्को विकल्प रहन्न ।
जनप्रतिनीधिहरु भनेको सपथ खाइसकेपछि आम जनताको हिमायती बन्न सक्नु पर्छ । यसले मात्र गाउँठाउँ र समाजको स्पष्ट नीति र प्रगतिको ढोका खोल्न सहयोग गर्छ । नत्र जनताको जनप्रतिनीधि कहलिन सम्भव हुँदैन । पार्टी र निर्वाचित जनप्रतिनीधि दुबैको आगामी दिनको सुरक्षित भविष्यका लागि पनि स्वतन्त्रबाट निर्वाचित जनप्रतिनीधिहरुले झन बढि ख्याल पु¥याउन पर्छ ।