नेपालमा स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० मा दोस्रो पटक हुन गइरहेको छ । यो निर्वाचनमा मुलुकभरीबाट हजारौं नेता कार्यकर्ता विभिन्न पदमा उमेद्वारी दिएर मैदानमा खडा छन् । मधेश प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) बाट नगर उपप्रमुखमा महिलालाई पार्टीगत तवरले स्थान दिएको छ । अन्य पार्टीहरुले भने गठबन्धनको नाममा प्रमुख वा उपप्रमुख मध्ये एक पदमा पनि महिलालाई अगाडी सारेको छैन । संविधान उल्लेख भएको व्यवस्था पनि उलंघन गरेका पार्टीहरु पुरुषकै भरमा प्रचारप्रसारमा भने लागिरहेका छन् । राप्रपाले वीरगन्ज महानगरपालिकामा उपप्रमुख पदमा उठाएकी महिला उमेद्वार विना जैसवाल राप्रपाका हस्ती स्व. गोकुल प्रसाद कुर्मीकी नातामा बुहारी हुन् । ससुराको राजनीतिक विरासत धान्न राजनीतिमा प्रवेश गरेकी उनी गठबन्धनबाट आएका पुरुष उमेद्वारसँग प्रतिष्पर्धा गरिरहेकी छन् । उनै महिला प्रतिष्पर्धी विना जैसवालसँग गरिएको बिशेष कुराकानी :
१. अहिले तपाईको महानगरमा उपमेयरमा उम्मेदवार किन ?
उम्मेदवार बनेको कारणभन्दा पनि खासमा मलाइ उम्मेदार किन नबनाउने ? म मा त्यति क्षमता छ र नै पार्टीले मलाई अगाडी सारेको हो । शैक्षिक योग्य पनि छु र भोली त्यो पदको गरिमा र कर्तव्य पूरा गर्न सक्ने भएकोले म आफै पनि अग्रसर भएकी हुँ । मलाइ पार्टीले सम्झेको, बुझेको छ । अरु पार्टीले महिलालाई आउन नदिँदा संविधानको ३३ प्रतिशत आरक्षण गरेको कुरा ठाडै उलंघन गरेको छ । जुन महिलाका लागि भनी संविधानले आरक्षण दिएको छ । त्यो दलहरुले खोसेर राखेपछि राप्रपाले आफ्नो पार्टीबाट मलाई सम्झियो । त्यो कर्तव्य पूरा गर्न मैले पनि उमेद्वारी दिएको हुँ । महिलाको अधिकारको कुरा पनि हो यो ।
२. तपाईलाई जनताले भोट किन दिने ?
सर्वप्रथम म एउटा महिला त्यसमा पनि उपमेयरको पदको योग्य उमेद्वार । शिक्षित र योग्य पनि छु । अनि म यही हुर्की पढेकी र यहिको छोरीचेली र बुहारी पनि । मैले वीरगन्जको वास्तविक अवस्था बुझेकी छु । अवसर पाएर ठाउँमा पुगे यहाँका महिला दिदी बहिनीहरुको समस्यालाई हल गर्न म सक्छु । म राजनीतिकमा पहिलेदेखि थिइन । तर मेरो ससुराबुवा गोकुल कुर्मी त राजनीतिकमा समर्पित हुनुहुन्थ्यो । म उहाँबाट नै प्रेरित भएर आएकोले म त्यो राजनीतिक संस्कारलाई पनि बचाउन सक्छु । अनि महानगरमा केही राम्रो काम पनि गर्ने मेरो ईच्छा छ ।
३. राजनीतिकमा आउने इच्छा थियो त ?
सुरुमा खासै त्यस्तो सोच त थिएन । तर परिस्थिति अनुसार अगाडी बढ्ने सोच भयो । राजनीतिमा आउन पद नै पाउँनु पर्छ भन्ने चाही होइन । म आफुलाई भाग्यमानी ठान्छु कि म राजनीतिमा जोडिदै गर्दा महानगरको उपमेयरको पदमा उम्मेदवार दिन पाएकोमा पनि ।
४. तपाईका चुनावी एजेन्डा के–के छन् ?
पार्टीको कार्यकर्ताका रुपमा अगाडी सरेपछि स्वतन्त्र उठेको सिंगल व्यक्तिको जस्तो मेरो मात्र एजेण्डा हुन्छ । जुन उपमेयर पदको काम कर्तव्य र अधिकार बाहिर गएर यो गर्छु त्यो गर्छु भन्ने खालको । म पार्टीको उमेद्वार भएकोले हाम्रो पार्टीको सिद्धान्त र नीति अनुसार जनताको जनजीविकाका कुराहरुमा सहजता ल्याउने प्रमुख एजेण्डा हो । मलाई थाहा छ, एउटा विकसित ठाउँ र अविकसित ठाउँ अनि विकास र समृद्धि । यो मूल एजेण्डामा रहेर पार्टी र आफ्नो अनि परिवारको पनि गरिमा बचाएर म अगाडी बढ्छु ।
५. वीरगंजमा के–के विकास चाहिन्छ ?
सीमा पारी इण्डिया र वारी आफ्नो वीरगंजमा विकासका धेरै कुराहरु फरक छन् । हाम्रो महानगरमा विकास गर्ने धेरै सेक्टर छन् । चारैतिर आँखा घुमाएर हेर्दा हामी खाली विकास गर्नु पर्ने नै कुरा हेर्छौं । वीरगंजलाई आर्थिक नगरी भन्छौं । त्यो कुरा पनि अधुरो मात्र छ । यहाँ आर्थिक क्षेत्रमा पनि गर्न बाँकी धेरै कुरा छन् । दिन प्रतिदिन महानगरको खेतीयोग्य भूगोल घट्दै गइरहेको छ । शिक्षा स्वास्थ्यमा पनि स्तरीय सेवा सुविधा छैन । यूवा वेरोजगार बढेको बढेकै छन् । उनीहरुलाई स्वरोजगार हुने र महिलाहरुलाई उत्पादनशिल क्षेत्रमा जोड्ने विकास वीरगन्जमा चाहिन्छ ।
६. पार्टीले तपाईलाई विश्वास गरेर टिकट दिएको छ । प्रतिस्पर्धी पनि छन् । तपाइको जित्ने आधार के छ ?
मेरो जित्ने आधार हाम्रो पार्टीको सिद्धान्त हो । भोटको संख्यामा केही तल माथि होला । आफ्नो ठाउँमा छ । तर मलाइ विश्वास छ । यो पदको लागि जनताले मलाइ अगाडी बढाउनु हुन्छ । म मेरो पार्टीको नीति र सिद्धान्तलाई जीवित राख्दै आम नगरवासीको कामलाई प्राथमिकता दिन्छु । मेरो जित्ने आधार त्यहि हो ।
७. के लाग्छ यहाँ सफल हुनु होला ?
मेरो सोच जहिले पनि सकारात्मक नै हुन्छ । किन कि म वीरगन्ज महानगरपालिकामा पार्टीगत रुपमा उपप्रमुखमा उमेद्वारी दिने एक्लो महिला हो । जुन मैले यो महानगरपालिकाका आमा दिदीबहिनीहरुको ३३ प्रतिशत आरक्षण अधिकारको बहन पनि गरिरहेको छु । म पनि नहुने हो भने आम महानगरवासी नारीहरुको लागि ३३ प्रतिशत अधिकार पूरै हनन् भएको हुने थियो । त्यो कारणले पनि म नकारात्मक सोच राख्दिन । फेरि हाम्रो समाजमा योग्य नारीहरु छैनन् भन्ने गरिन्छ नि त्यो कुरालाई पनि म चिर्न तयार छु । अनि महानगरको पनि विकास गर्नका लागि महिला–पुरुष दुवैको भूमिका समान हुन पर्छ नि ।