समाजको रुपान्तरण र समृद्धि उपयुक्त नीति र कार्यान्वयनबाट मात्र सम्भव हुन्छ । त्यो सम्भव बनाउने काम राज्यको मूल नीति राजनीतिले मात्र गर्छ । त्यो मूल नीति बनाउने काम राजनीतिकर्मीले गर्ने हो । राजनीति सग्लो हुन राजनीति गर्ने मानिसहरु इमान्दार, दूरगार्मी सोच भएको र इच्छाशक्ति पनि उत्तिकै राम्रो भएको हुन अपरिहार्य छ । त्यो कुरा संघ सरकारमा पुग्ने, प्रदेश सरकारमा पुग्ने वा स्थानीय सरकारमा पुग्ने जो कोही हकमा पनि लागु हुन्छ ।
नेपालको राजनीतिमा त्रुटी त्यही भइरहेको छ । यसमा राजनीतिकर्मीहरु मात्र दोषी छैनन् । यसको मूल दोषी जनता पनि छन् । राजनीति त हरेकले आफ्नो इच्छाले गर्न पाउने भएपछि राम्रो काम गर्न सक्ने, देश र जनतालाई प्रमुखता दिने राजनीतिक पार्टी र नेताको छनौट गर्ने काम जनताबाट नै हुने हो । त्रुटी त्यही भएपछि मात्र जनताले अपेक्षा गरे अनुसारको उपलब्धी प्राप्त हुन सक्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने बहुसंख्यक नागरिक गरीब र विपन्न भएको कारण राजनीतिक दल र नेताहरुले त्यसको फाइदा उठाउँदै जितेर गएपछिभन्दा पनि निर्वाचनका समयमा केही छाक मासु र मदिरा अनि रकमको चलखेल गरी भोटरलाई प्रभावमा पार्दा नेपालको राजनीति सकारात्मकभन्दा नकारात्मक रंगले पोतिएको छ । अरुवेला जनतालाई उपेक्षा गर्ने नेताले पनि निर्वाचनमा भोटरलाई आफ्ना पक्षमा पार्ने ध्याउन्न गर्छन् नै । तर जितेर गएपछि जनता र देश प्रति वेवास्ता गर्नेलाई फेरि जिताएर पठाउन उदत्त हुनु जनताको त्यही कमजोरी हो । निर्वाचनका वेला चुक्नु र बिक्नु नै हरेक राजनीतिक व्यवस्थामा नेपालीको भविष्य उज्यालो नहुने बाटो तर्फ उन्मुख हुनु पनि हो ।
अरुले केही छाक दिएको मासु र मदिराका पछि नलागी राम्रो राजनीतिक दल र राम्रा नेतालाई मात्र आफ्नो मत दिने बानी नेपाली मतदाताले गरे आफ्नो र मुलुकको भविष्य पनि नराम्रो छैन । समग्रमा मुलुक समुन्नति तर्फ गए त्यहाँ रहने आम मानिसको जीवनशैली समुन्नत हुन्छ । यो कुरामा आगामी निर्वाचनमा नेपाली मतदाताले कति विवेक प्रयोग गर्छन् अब त्यसमा भर पर्छ । निर्वाचनका समयमा चुक्ने बिक्ने र त्यसपछि राजनीतिक दल र नेतालाई गाली गर्ने शैलीले केही अर्थ राख्दैन । यसमा आम मतदाताले आगामी बैशाख १४ गते आँकलन गरिएको स्थानीय तहको निर्वाचनबाट नै सजग बन्नु पर्छ ।
गएको निर्वाचनमा निर्वाचित भएका अधिकाँश जनप्रतिनीधिले चारबर्ष जनताभन्दा आफ्नो कमाउ धन्दालाई प्राथमिकता दिंदा अब निर्वाचनको कुरा गर्ने साथ उनीहरुको मथिंगल घुम्न थालेको छ । कारण जनप्रिय कार्यभन्दा धनप्रिय कार्यमा उनीहरु मग्न थिए । त्यसैले आगामी निर्वाचनको नाम लिनासाथ पहिलेका निर्वाचितलाई तरङ्गित हुन थालेका छन् । अब बल्ल उनीहरु जनता सम्झिन थालेका छन् ।
वेला गएपछि केही गरेझैं गरी उनीहरु जनतालाई भ्रममा पार्न तम्सिन पनि थालेका छन् । यो कुरालाई स्थानीय निर्वाचनमा जनताले ख्याल गर्न पर्छ । सिंहदरबार गाउँ आएको भनिए पनि फेरि उस्तै जनप्रतिनीधिबाट सर्वसाधरण नागरिक ठगिने निश्चित प्रायः छ । यो कुरामा अहिलेदेखि नै आम भोटरले पनि सोच्न सिक्नु पर्छ । नत्र पैसाका बलमा निर्वाचनमा जितेर गएका नेताले निर्वाचनको खर्च सम्झिएर अतालिए जस्तो निर्वाचन पछि उचित कार्यसम्पादन नभएर जनता पनि आजित बन्न बाध्य हुन पर्छ ।